काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूमाथि गलत आरोप लगाइएको बताएका छन्। बुधवार संसदीय सुनुवाई विशेष समितिमा उनले आफूलाई सरकार फेर्न भूमिका खेलेको भनेर गलत आरोप लगाएको बताएका हुन् ।
उपाध्यायले भने, ‘अघिल्लो सरकारले गलत सूचनाको आधारमा मलाई फिर्ता बोलायो।’ राजदूत भए देश र जनताको पक्षमा सरकारको आदेश अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाए। सुशील कोइराला सरकारबाट राजदूत नियुक्त उपाध्यायलाई एमाले नेतृत्व सरकारले समय नसकिदै फिर्ता बोलाएका थिए।
एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले उपाध्यायको योग्यतामाथि प्रश्न उठाएका थिए। ढकालले सोधे, ‘असफल भएर फिर्ता बोलाइएका मान्छेले कसरी त्यो पदमा बस्न आफूलाई योग्य सम्झनुहुन्छ ?’ बैठकमा कांग्रेसका सांसदहरुले भने उपाध्यायको बचाऊ गरेका थिए। उनीहरुले अघिल्लो सरकारले आवेशमा फिर्ता बोलाएको बताए। चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेलले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा सक्ने देखेर सरकारले गरेको निर्णय स्वीकार्ने बताए।
१२ असोज, २०७३ ।
Comments