राजनीति

इलाकालाई स्थानीय तह मान्ने निर्णयप्रति कांग्रेसको असन्तुष्टि

काठमाडौं– इलाकालाई आधार मानेर स्थानीय तहको सीमाकंन र संख्या निर्धारण गर्ने सरकारको निर्णयप्रति कांग्रेसकै सांसदहरुले असन्तुष्टि जनाएका छन्। वुधबर राज्य व्यवस्था समितिको बैठकमा कांग्रेसका मधेशी सांसदहरुले यो निर्णयले मधेशमाथि अन्याय गरेको बताए।

उनीहरुले सरकारको यो निर्णय कुनै हालतमा नमान्ने बताए। सांसदहरु फरमुल्लाह मन्सुर, अमरेशकुमार सिंह र रामकृष्ण यादवले प्रदेश सीमाकंन हेरफेरबारे छलफल भइरहेका बेला स्थानीय पालिका बनाउने सरकारी निर्णयले मधेशको हित नहुने बताए। सांसद मन्सुरले स्थानीय तहको निर्वाचन नहुँदैमा संविधान धरापमा नपर्ने बताए।

सरकारी निर्णयको प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पनि आपत्ति जनाए। उनीहरुले आयोगले सिफारिस गरेको प्रस्ताव नै मान्नुपर्ने धारणा राखेका थिए। जवाफमा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिका आधारमा स्थानीय तह निर्धारण सम्बन्धी सरकारले गरेको निर्णय सवैले मान्नुपर्ने बताए।

१२ असोज, २०७३ ।