राजनीति

दुर्घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं– सरकारले  पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटना र मंगलबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाको छानविनका लागि पूर्वप्रहरी महानिरीक्षक कुवेरसिं रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।  समितिलाई मुग्लिन नारायणगढ सडक खण्डमा दुर्घटना न्युनिकरण गर्ने तथा सवारी आवागन सहज बनाउने उपायबारे सुझाव दिन कार्यक्षेत्र पनि तोकिएको छ ।
यएबीच, मंगलबार धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । धादिङको उत्तरी क्षेत्रको गाविसमा मंगलबार भएको यात्रुबस दुर्घटनामा १४ जना घाइते भएका छन् ।
धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो । मंगलबार बिहान ७ बजेतिर धादिङबेसीबाट २७ यात्रु बोकेर छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराइएको पहिलो किस्तावापतको ५० हजार रकम लिएर घर फर्कँदै गरेका धेरै थिए ।
दुर्घटनामा दुई बालकसहित १३ पुरुष र छ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । उनीहरुमध्ये केहीको छाउनी अस्पतालमा उपचार भइरहेको छ । 
धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारका अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी र पद्मबहादुर थापा छन् । यस्तै गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामाको पनि मृत्यु भएको छ । घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको धादिङ प्रहरीले जनाएको छ । माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।

३ वर्षमा २३ गाडी त्रिशुलीमा खसे
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन । यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन् ।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना।३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन । तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् । ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए ।

गत ३१ साउनमा काभ्रेमा भएको सवारी दुर्घटनापछि देशभरि ट्राफिक नियम पालनामा कडाइ गरिएपछि पनि दुर्घटनामा कमी आएको छैन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार भदौमा देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

साउनमा एक हजार चार सय ३६ वटा दुर्घटना भएकोमा एक सय ८० जनाको मृत्यु भएको थियो । साउनको तुलनामा भदौमा दुर्घटनामा कमी आएको छ । साउनमा चार सय २० जना गम्भीर घाइते भएका थिए भने आठ सय ७८ जना सामान्य घाइते भएका थिए । भदौमा दुई सय ५३ गम्भीर घाइते तथा आठ सय ४० सामान्य घाइते भएका थिए ।

१२ असाेज, २०७३ ।