काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पुनःनिर्माण प्राधिकरणलाई परिणाममुखी काम युद्धस्तरमा गर्न निर्देशन दिएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको घोषणा अनुसार नतिजा निकाल्ने गरी काम गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री अध्यक्ष रहने निर्देशक समितिको बैठक दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको हो। बैठकले १० दिनभित्र प्रधानमन्त्रीको नेतृत्वमा रहेको पुनःनिर्माण परामर्श परिषदको बैठक बोलाउन पनि निर्णय गरेको छ।
आइतबार र सोमबार बसेको निर्देशक समितिको बैठक समापन गर्दै प्रधानमन्त्री दाहालले भने, ुयो बैठकलाई गम्भीरतापूर्व लिन र सरकारको घोषणा अनुसार नतिजा निकाल्ने गरी काम गर्न निर्देशित गर्दछु।ु दाहालले एक महिनाभित्र फेरि बस्ने निर्देशक समितिको बैठकमा घोषित नतिजा प्राप्त भएको रिपोर्ट लिएर आउन निर्देशन दिए।
बैठकले पुनःनिर्माणको प्रयोजनका लागि सहसचिवको नेतृत्वमा क्षेत्रीय स्तरमा बनाइएको संरचना सफल हुन नसकेको निष्कर्ष निकाल्दै जिल्ला स्तरमा सांसदको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी र जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधि सम्मिलित सचिवालय गठन गरेर कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा प्रधानमन्त्रीले १४ जिल्लाको राहतको कामलाई सम्पन्न गरी बाँकी १७ जिल्लाका भूकम्प पीडितलाई तुरुन्त पहिलो किस्ता अनुदान वितरणको व्यवस्था गर्न निर्देशन दिए।
प्रधानमन्त्रीले ३१ जिल्लामा दोस्रो किस्ताको राहत रकम वितरणका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय तयार रहेको भन्दै मन्त्रालय र आयोगसँग समन्वय गरी दोस्रो किस्ता राहत वितरणको गृहकार्य गर्न पनि आयोगलाई भने।
बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रधानमन्त्रीको घोषणा बमोजिम कार्यसम्पादन गर्न आयोग प्रतिवद्ध रहेको बताएका थिए।
१० असोज, २०७३ ।
Comments