राजनीति

प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा

प्रसंगः ‘लोकमानसँग कुरा मिल्यो’

काठमाडौं– आइतबार बसेको व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर चर्काचर्की भएको छ । प्रधानमन्त्री प्रचण्डले केहीदिन पहिले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने  अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  चर्को आलोचना भएको हो ।  बैठकमा सांसदहरुले अनुसन्धानमा रहेको मुद्धामा अदातल र मैले कुरा मिलाए भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।

नेपाली कांग्रेसका संसद रामहरि खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे तत्काल संसदलाई जानकारी गराउन माग गरे । उनले कानुनको पालना गराउने निकाय प्रमुखले अदालतसँग मुद्दा मिलाएको भन्न नमिल्ने भन्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले कानुनी शासनको उपहास गरेको बताए । बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले सांसद रेतवीरमण भण्डारीले प्रधानमन्त्रीको अभिव्यक्ति आपक्तिजनक भएको भन्दै त्यस विषयमा सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे। ‘अनुन्धानमा रहेको मुद्दामा पहुँचको आधारमा प्रधानमन्त्रीले मिलाउने हो भने न्याय समाप्त हुन्छ,’ उनले भने,‘ठूलालाई चयन सानालाई ऐन गर्न पाइँदैन ।’

नेमकिपाका प्रेम सुवाल, नेकपा मालेका सिपी मैनाली प्रधानमन्त्रीले भारतसँग गरेको सहमति तत्काल खारेज गर्न माग गरे । प्रधानमन्त्रीले गरेको सहमति मुलुक र जनताको हितविपरित रहेकाले खारेज गर्नुपर्ने उनीहरुको माग थियो । अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्चार छानविन अघी बढेको केही दिन पहिला पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । त्यसको केही दिनमा प्रधानमन्त्रीले माओवादी कार्यालय बैठकमा अख्तियार प्रमुखसँग कुरा मिलिसकेको जानकारी गराएको समाचार सार्वजनिक भएको थियो ।
९ असोज, २०७३ ।