राजनीति

स्थानीय निकायको चुनावका लागि देउवाको नयाँ प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको पुनःसंरचनामा आयोगले तोकेको संख्यामा सहमति हुन नसके हाल कायम रहेका इलाकालाई आधार मानेर स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताएका छन्।

देउवाले स्थानीय तहको संख्याको विषयमा फरक–फरक मत देखिएको भन्दै सहमति कायम हुन नसके ९ सय २७ वटा इलाकालाई आधार मानेर स्थानीय निर्वाचन गरिनुपर्ने बताए। कांग्रेसका जिल्ला सभापतिहरुको यसअघि भएको भेलाले पनि इलाकालाई आधार मानेर स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न सुझाव दिएको थियो।

शुक्रबार राजधानीमा पार्टीको हालसम्मका महाधिवेशन समेटेर तयार पारिएको पुस्तकको विमोचन गर्दै देउवाले पदाधिकारी मनोनयन गरेर तथा विभागहरु गठन गरेर पार्टीलाई छिट्टै पूर्णता दिने जनाए।

महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भइसक्दा पनि सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनय गरेका छैनन्। यस्तै विभाग गठनको काम पनि भएको छैन। देउवाले यही विषयलाई लिएर कतिपयले काम गर्न सकेन भनेर आफ्नो आलोचना गरिरहेको भन्दै अब चाँडै पदाधिकारी मनोनयन र विभाग गठनको काम गर्ने दाबी गरे।

८ असोज, २०७३ ।