राजनीति

गम्भिर प्रकृतिका घटनालाई सरकारले आममाफी दिदैनः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भिर प्रकृतिका मानवअधिकार हननका घटनालाई आममाफी दिन नहुने बताएका छन् ।  अन्तराष्ट्रिय शान्ति दिवशको अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले द्वन्द्वकालमा भएका गम्भिर मानवअधिकार हननका मुद्दाहरुलाई सरकारले आममाफी नदिने बताएका हुन् ।

उनले गम्भिर प्रकृतिका घटनाहरुमा आममाफी दिने विषयमा अन्तराष्ट्रिय समुदायमा आशंका गरे पनि दण्डहिनतालाई कुनै पनि हालतमा प्रोत्साहन गर्ने पक्षमा सरकार नरहेको बताए । प्रधानमन्त्री दाहालले गम्भिर प्रकृतिका मुद्दाधाहरु अदालती प्रक्रियामा जाने तर द्वन्द्वकालीन मुद्दाहरुलाई लिएर समाजमा फेरि द्वन्द्व चर्काउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले अदालत गठन गर्ने विषयमा टुङ्गो लगाएर संविधान कार्यान्वयनको चरण सुरु भएको भन्दै राष्ट्रिय सहमतिकै आधारमा सरकार स्थानीय निकायको चुनावको अन्तिम तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादले द्वन्द्वकालका मुद्धाहरुको टुङ्गो लगाएर समाजमा भाइचारा तथा मेलमिलापको वातावरण बनाउनु आवश्यक रहेको धारणा राखिन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले आयोगलाई अन्तराष्ट्रिय स्तरको बनाउन समयानुकुल ऐन कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याए ।

वेपत्ता छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले हालसम्म २८ सय ६४ जना वेपत्ता पारिएको उजुरी आएको र ती उजुरीको छानविन गर्ने काम शुरु भइसकेको जानकारी दिए ।  अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा काठमाडौंमा बुधबार ¥याली समेत निकालिएको थियो ।
५ असोज, २०७३ ।