राजनीति

भारतका लागि प्रस्तावित राजदूत उपाध्यायको १२ गते सुनुवाई हुँदै

काठमाडौं– भारतका लागि  प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेका छन् ।  सुनुवाई समितिको बुधबार बसेको बैठकले उक्त उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरेको छ ।
उजुरीकर्ता मध्ये एक आगामी १२ गते समितिमा उपस्थित हुन समेत तयार भएका छन् । उपाध्याय भारतका लागि पूर्वराजदूत समेत हुन् । सरकार ढाल्न सक्रिय भएको लगायतका आरोप लगाएर केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई फिर्ता बोलाएको थियो ।
तर, कांग्रेसको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको नयाँ सरकारले उपाध्यायलाई फेरि भारतकै लागि राजदूतमा सिफारिस गरेको हो । जसको एमालेले अहिले पनि विरोध गर्दै आएको छ ।

समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन । पौडेल पूर्वमुख्य सचिव हुन् । सुनुवाई समितिका एक सदस्यका अनुसार दुबै प्रस्तावित राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी भइरहेको छ ।
यसैबीच, संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषद् सदस्यका लागि प्रस्तावित रामप्रसाद सिटौलाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । उजुरीका लागि १० दिनको समय दिइनेछ ।

५ असोज, २०७३ ।