काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपरान्हका लागि डाकेको सर्वदलीय बैठक स्थगित भएको छ। प्रधानमन्त्री दाहालको नीजी सचिवालयका अनुसार सोमबार अपरान्ह २ बजेका लागि तय सर्वदलीय बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने राजकीय भ्रमण सकेर आइतबार स्वदेश फर्किएका दाहालले आफ्नो अमेरिका भ्रमणको विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेका थिए ।
पूर्वनिर्धारितक कार्यक्रम अनुसार संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा सम्बोधन गर्न सोमबार साँझ नै दाहाल नेपाल सरकारको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जाने तयारी थियो । तर, मुलुकमा उत्पन्न समसामयिक राजनीतिक परिस्थिति र संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग वार्ता र सहमति गरी संविधान संशोधनको प्रक्रिया अघि बढाउने महत्वपूर्ण कार्यमा व्यस्त रहनुपरेको भन्दै दाहालले आइतबार राति आफ्नो अमेरिका भ्रमण रद्ध गरेका थिए ।
दाहालको भ्रमण रद्ध भएपछि उक्त भ्रमणको विषयमा सर्वदलीय छलफल आवश्यक नरहेको भन्दै बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Comments