राजनीति

संविधान दिवस भव्यरुपमा मनाइयो

काठमाडौँ– नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरियो ।  संविधान दिवस मूल समारोह समितिद्वारा सोमबार नेपाली सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको अयोजना भएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरू,  सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारी सहभागी भएका थिए ।

राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उनको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र  गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।  समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाएका थिए ।

नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।   दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो । नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भएको भए पनि नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान नै यो पहिलो हो ।
 
नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ ।
 
संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूची छन् । संविधानमा विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो ।

 नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिइएको छ । संविधान दिवस मुलुकभर सोमबार हर्षोल्लासका साथ मनाइयो।  नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।

३ असोज, २०७३ ।