राजनीति

प्रधानमन्त्री दाहाल अमेरिका नजाने भए

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण स्थगित भएको छ । भारतको चार दिने भ्रमण पूरा गरेर आइतबार फर्किएका प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन सोमबार अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम थियो । त्यसका लागि भ्रमण टोली समेत सार्वजनिक भइसके पनि प्रधानमन्त्री दाहालले आइतबार राति  एकाकए भ्रमण स्थगित गरेका छन् । 
उनको निजी सचिवालयले दिएको जानकारी अनुसार मधेसी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले अहिले विदेश भ्रमण गर्नुभन्दा प्रधानमन्त्रीले उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठाएको वर्तमान अवस्थामा विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पूनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्धेश्यले अनुरुप भ्रमण स्थगित गरिएको  हो । 
खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्तिको विषयमा परेको रिटमा फेरि सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय र माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारबारेको छानविन सुरु गर्ने अख्तियारको घोषणा लगायतका कारणले उत्पन्न भएको नयाँ परिस्थितीका कारण भ्रमण स्थगित भएको श्रोतको दाबी छ । 
प्रधानमन्त्री नजाने भएपछि महासभामा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नै गर्नेछन् । परराष्ट्रमन्त्री महत आइतबार भारतबाटै न्यूयोर्क प्रस्थान गरेका थिए । 

३ असाेज, २०७३ ।