राजनीति

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर काठमाडौं आइपुगेका छन्। नेपाल वायु सेवा निगमको विमानमा उनी दिल्लीबाट काठमाडौं आइपुगेका छन्। उनले भ्रमण सफल भएको प्रतिक्रिया दिए।

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई नयाँ उचाईका साथ थप सुदृढ भएको दाबी गरे । प्रधानमन्त्री दाहालले आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्वन्धमा केहि असर नगर्ने प्रतिक्रिया दिए ।

सहमति भएका विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा एउटै मत बनाएर जाने सहमति भएको भन्दै उनले यो कुनै नयाँ कुरा नभएको प्रतिक्रिया दिए । संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको उनले बताए । यो सहमतिमा चीनसँगको सम्बन्धलाई असर गर्दैन भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भनेः ‘भारतसँगको सम्वन्धको आफ्नै आयाम छ र हामीले सन्तुलित नीति लिएका छौं । यसले चीनसँगको सम्वन्धमा कुनै असर गर्दैन ।’

दुई प्रधानमन्त्रीहरुबीच संयुक्त राष्ट्र सङ्घका विषयमा अन्तर्राष्ट्रिय समान धारणा राख्न तथा विकासोन्मुख देशका लागि एकहुने उल्लेख गरिएको छ । त्यसैगरी नेपालले संयुक्त राष्ट्र सङ्घ ,सुरक्षा परिषद्मा नेपालले सहयोग गर्ने बताइएको थियो। उनीहरु दुई देशबीचको प्रबुद्ध समूहको बैठक सन् २०१६ मै गर्ने र त्यस समूहले नेपाल र भारतबीचको सम्बन्धका विषयमा स्वतन्त्र तवरले बहुपक्षीय सम्बन्धको विकास गर्न थप सहयोग गर्न सुझाव दिने अपेक्षा गरिएको थियो।