राजनीति

गुप्ता काण्डमा मुछिए प्रहरी निरीक्षक पण्डित

काठमाडौं–  महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् ।  ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको टोलीले पक्राउ गरेको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

एसएसपी अधिकारीका अनुसार इन्स्पेक्टर पण्डितले सहयोग गरेबापत गुप्तासँग ५० लाख रुपैयाँ मागेका थिए । त्यसबापत ७५ हजार लिइसकेको पनि परिसरको अनुसन्धानबाट खुलेको छ । करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका प्रहरी निरीक्षक पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ ।

आफनै श्रीमती हत्याको आरोपमा जेल सजायँ काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमीका भनिएकी तारा रेग्मीलाई धम्क्याएको आरोपमा गुप्ता पक्राउ परेका हुन् । रञ्जनसँगै रेग्मी पनि गिता ढकाल हत्या काण्डकी आरोपी हुन् । उनैलाई धमक्याउने गुप्तालाई सहयोग गरेको आरोपमा पक्राउ परेका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको हिरासतमा राखिएको छ ।
२१ भदाै, २०७३ ।