काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले कसैको स्वार्थ र आग्रह सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताएका छन्।दशदिने थाइल्यान्ड भ्रमणपछि सोमबार स्वदेश फर्किएका निवर्तमान प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कुनै औचित्यविना संविधान संशोधन असम्भव रहेको बताए।
‘कसैको दबाब र बहकाउमा देशको अहित हुने गरी, लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ र आग्रह सम्बोधनका लागि संविधान संशोधन हुँदैन,’ ओलीले भने, ‘लहडबाजी, जिद्दी वा आग्रह पूरा गर्न होइन, देशको आवश्यकता र अग्रगमन, देशको इज्जत र प्रतिष्ठा माथि उठाउनका लागि मात्रै संशोधन हुन्छ।’ आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
सरकारले संघीय गठबन्धनको माग सम्बोधनका लागि संविधान संशोधनको गृहकार्य बढाइरहेका वेला ओलीको यस्तो धारणा आएको हो। ओलीले संविधान संशोधनको ठोस प्रस्ताव आएपछि मात्रै एमालेले धारणा बनाउने स्पष्ट पारे। संशोधनको माग गर्नेहरूले नै एमालेसँग कुनै औपचारिक प्रस्ताव नराखेको र सरकारले पनि कुन–कुन बुँदामा केका लागि संशोधन भन्ने स्पष्ट नराखेको भन्दै उनले यसबारे औपचारिक धारणा बनाइनसकेको स्पष्ट पारे।
‘जतिवेला विषय आउँछ, त्यतिवेलै ठोस धारणा बनाउँछौा, अखबारमा आएका भरमा प्रतिक्रिया दिँदै हिँड्ने कुरा भएन,’ उनले भने। ओलीले अस्वाभाविक र अप्राकृतिक ढंगले राष्ट्रहितविरुद्ध बहुमतको दुरुपयोग गर्नेहरूसँग बजेट आश्रित विधेयक पास गर्न संसद्मा लैजाने नैतिकता नभएको टिप्पणी पनि गरे।
‘बहुमतलाई कहिल्यै राष्ट्रिय हितविरुद्ध दुरुपयोग गरिँदैन, तर त्यतिवेला अस्वाभाविक र अप्राकृतिक बहुमतको लज्जास्पद ढंगले दुरुपयोग गरियो,’ ओलीले भने, ‘जसले त्यतिवेला बेठीक भन्दै असफल तुल्यायो, उसैले कुन नैतिकतामा उभिएर फेरि विधेयक पारितको प्रस्ताव ल्याउन सक्छ ?’ आजको नयाँ पत्रिकामा खबर छ।
२१ भदाै, २०७३ ।
Comments