काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिने भएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले चाँडै नीति ल्याएर पुनर्निर्माणलाई थप तीव्रता दिइने बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहण गरेको दिन ४५ दिनभित्र सबै भूकम्पपीडितलाई घर बनाउने अनुदानको पहिलो किस्ता उपलब्ध गराउन निर्देशन दिए पनि नीतिको अभावमा प्राधिकरणले पुनःनिर्माणको कामलाई तीव्रता दिन सकेको छैन ।
प्रवक्ता थपलियाले पुनःनिर्माणको काममा ढिलाइ भइरहेको स्वीकार्दै त्यसलाई छिटो सम्पन्न गर्न १६ प्रकारका कानुन तर्जुमा गरिइसकिएको जानकारी दिए। प्रवक्ता थपलियाका अनुसार काठमाडौँ उपत्यकाको सर्भेको काम एक हप्ताभित्र सकिनेछ । उनले विदेशी अनुदानले ६० हजार घर बनाउन सकिने भए पनि बाँकी घर निर्माणका लागि सरकारले ऋणबाटै अनुदान उपलब्ध गराउने भएकाले घर सरकारले नै बनाइदिन्छ भनेर नबुझ्न आग्रह गरे।
गोरखा, सिन्धुपाल्चोक र दोलखा जिल्लाका भूकम्प प्रभावित गाउँहरुमा गरिएको स्थलगत अनुगमनले भूकम्पपछिको प्रतिकार्यमा लैंगिक समावेशीता नभएको, वास्तविक पीडित अझै छुटेको, कतिपय पीडितले थोरै राहतबाहेक केही नपाएको जस्ता समस्या औँल्याएको थियो। स्थानीय तहमा कर्मचारी नहुँदा वास्तविक पीडितको तथ्यांक संकलन र मर्कामा परेका जनतालाई चाँडो पुनःस्थापनाको प्रत्याभूति दिलाउन नसकिएको प्रतिवेदनले देखाएको छ।
Comments