काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन अन्ततः सरेको छ । अब महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने मिति तोकिए पनि तयारी नपुगेको जनाउँदै महाधिवेशनको नयाँ मिति तय गरिएको हो ।
हालसम्म ६० जिल्लाको मात्र अधिवेशन भएको र निर्धारित मितिमा बाँकी जिल्लाको अधिवेशन गर्न समय अपुग हुने भएकाले महाधिवशेन मिति सार्नुपरेको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
तरुण दल महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याई आवश्यक निर्देशन दिन केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको छ । समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसार्इं, महेन्द्र यादव र विश्वप्रकाश शर्मा सदस्य रहेका छन् ।
अधिवेशन हुन बाँकी जिल्लामध्ये कतिपय जिल्लामा समानान्तर समिति छन् भने कतिपयमा पार्टीका गुटको हस्तक्षेपले विवाद उत्पन्न भएको देखिन्छ । धनुषा, रुपन्देही, रुकुम, बझाङ, बाँके, भक्तपुर लगायत जिल्ला समितिमा विवाद छ ।
तरुण दलको आगामी नेतृत्वका लागि हालसम्म ऐम गुरुङ, राधा घले, जन्मजय तिमिल्सिना, नारायण भट्टराई, दामोदर कोइराला, कर्ण मल्ल, टेकराज पौडेल, लक्ष्मी खतिवडा, उत्तम चापागार्इं, निरञ्जन केसी, नागेश्वर यादव, पदम पालङ्गवा, खिममान रायमाझी, मेदिनी सिटौला, पूर्ण गुरुङ लगायत आकाङ्क्षी देखिएका छन् ।
तरुण दलको हालको विधानानुसार मुलुभरबाट महाधिवेशनमा एक हजार तीन सय ७० प्रतिनिधि रहनेछन् । हाल केन्द्रीय समिति ४५ सदस्यीय छ भने विधानमा ६१ सदस्यीय समिति रहने प्रावधान छ । अब प्रादेशिक संरचनाअनुसार विधान संशोधन हुने र त्यसमा विद्यमान सङ्ख्या वृद्धि हुनाका साथै समावेशिताको व्यवस्था पनि हुने जनाइएको छ ।
Comments