राजनीति

सभापति देउवा स्वास्थ्य उपचार गरी स्वदेश फिर्ता

काठमाडौ– नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा पेटको पाचन प्रणाली सम्वन्धि उपचार गराएर सिंगापुरवाट शनिवार स्वदेश फर्किएका छन् । सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गरेका थिए। स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानीको क्रममा सभापति देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

सभापति देउवाले भनेः‘ संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ।’ विमानस्थलमा पत्रकारसंग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नका लागि नै संविधान संशोधन हुन लागेको बताए। पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक विदेश भएको भन्दै सभापति देउवाले आफु नितान्त स्वास्थ्य उपचारमा गएको र त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट नगरेको प्रष्ट पारे ।
तपाईहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको रु भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा देउवाले भनेः‘ अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ , म प्रधानमन्त्रीसँग कुराकानी गर्छु।’

पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने समेत जानकारी दिए । हाल सभापतिले पार्टी पदाधिकारीमा गर्ने मनोनयन पद रिक्त छ। सभापति देउवालाई पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, नेकाका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए।