राजनीति

मध्यरातमा वीरेन्द्रको सालिक गायव, सालिकको ठाउँमा झण्डा !

बाँके– विहीबार झडपका बाबजुद पनि केही राजावादीहरुले नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक राखेको थिए । तर,  प्रहरीले रातारात सालिक हटाएको छ। हटाइएको शालिकको ठाउँमा राष्ट्रिय झण्डा राखेर प्रहरीले सालिक सुरक्षित राखिएको जनाएको छ।

सरकारले द्वन्द्वकालमा भत्काइएका शालिक राख्ने निर्णय नगरेको कारण बिहीबार राजावादीहरुले राखेको पूर्वराजा वीरेन्द्रको शालिक हटाइएको बाँके प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए। बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा शालिक हटाएको हो। 

राप्रपा नेपालका कार्यकताले बिहीबार प्रहरीको अबरोधकबीच नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक राखेका थिए। शालिक राख्ने क्रममा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना कार्यकर्ता घाइते भएका थिए।
२०६२÷०६३ सालको जनआन्दोलनमा आन्दोलनकारीले पूर्वराजा वीरेन्द्रको शालिक तोडफोड गरेका थिए। पूर्वराजाको शालिक हटाएपछि शुक्रबार समेत धम्बोजी चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।