प्रबिधि

बाढीको वितण्डापछि राडार सेन्सरको पहल

काठमाडौं । केहीदिन यता परेको वर्षाले बाढीको जोखिम बढ्न थालेपछि सरकाले नदीहरुमा बाढीको पूर्व सूचना दिने राडार सेन्सर जडानको प्रक्रिया शुरु गर्ने भएको छ । भोटेकोसीमा बाढी आएर करोडौंको क्षति भएपछि सरकारले बाढीसम्बन्धी पूर्वसूचना दिने ‘राडार सेन्सर’ प्रविधि जडान गर्ने मनसाय बनाएको हो ।
 
सेन्सर जडानको अध्ययनका लागि विभागको एक टोली बिहीबार भोटेकोसी क्षेत्रमा प्रस्थान गरेको छ । बाढीको पूर्वसूचनाका लागि स्वचालित राडार सेन्सर र बब्लर सेन्सर प्रविधिको प्रयोग गरिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राडार सेन्सर पानीमाथि जडान गरिन्छ भने बब्लर सेन्सर पानीको सतहभन्दा तल जडान गरिन्छ । यसअघि भोटेकोसीमा बब्लर सेन्सर जडान गरिए पनि जुरे पहिरो र भूकम्पपछिको भू–धरातल कमजोर भई नदीभित्र ढुंगा खसेका कारण बब्लर सेन्सर बिग्रिएकाले पूर्वसूचना उपलब्ध नभएको विभागको भनाइ छ ।
 
विभागका महानिर्देशक डा. ऋषि शर्माले भोटेकोसीमा बब्लर सेन्सर जडान भइरहेको भन्दै सूचना प्रवाहमा सरकारी ढिलासुस्ती भएको भन्न नमिल्ने बताए । सुनकोसी, दूधकोसी, भोटेकोसी, सप्तकोसी, महाकालीलगायत प्रमुख नदी आसपासका बस्ती उच्च जोखिममा छन् । बहाव मापन र त्यसको सूचनाका आधारमा स्थानीय प्रशासनले बाढीका बेला ध्वनी संकेतमार्फत सर्वसाधारणलाई सचेत गराउँछ । तर दिगो र प्रभावकारी उपकरण नै जडान नहुँदा पूर्वसावधानी अपनाउनसमेत समस्या हुने गरेको छ ।