फोटो ग्यालेरी

साकेला उभौलीमा किरात राईहरुको सिली छमछम (फोटो फिचर)

न्यूयोर्क । किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा न्यूयोर्कको क्वीन्स बृज पार्कमा साकेला उभौली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा किरात राईहरुले विविध सांस्कृतिक कार्यक्रमसहित साकेला सिलीमा नाचगान गरेका थिए । किराँत सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड साकेला उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुन्छ ।

उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैवि प्रकोप तथा विपक्तिहरू नआउन् भनि चण्डिपूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिनदेखि यसलाई साँस्कृतिक महोत्सवको रूपमा मनाउने गरिन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् । कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् ।

गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातिका युवायुवतीको समेत सहभागिता बढ्दो छ । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि यी जातिहरूले भव्य रूपमा किराँती रितिअनुसार भूमिको पूजा गरी उभौली चाड अर्थात भूमि पूजा गरी चण्डी नाच नाच्दै १ महिनासम्म मनाउने गर्छन । किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डिपूर्णीमामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली मनाउने गर्दछन् ।