प्रबिधि

डिजिटल प्रविधिबाट घरधुरीको सर्वेक्षण

इलाम। इलामको सूर्योदय नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै घरधुरी सर्वेक्षणको गर्ने भएको छ ।

नगरपालिकाले प्रत्येक वडाका दुईदेखि तीनजना स्वयम्सेवकलाई प्रविधिसम्बन्धी तालिम दिएर घरधुरी सर्वेक्षणमा पठाउन लागेको छ ।

‘स्मार्ट फोन’को प्रयोग गर्ने युवालाई तालिम दिएर यही सातादेखि सर्वेक्षणमा पठाउन लागिएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए।

सर्वेक्षणमा भाडामा लगाइएको घर, सवारीसाधन लगायतको तथ्याङ्क सङ्कलन गरिनेछ । डिजिटल प्रविधिको प्रयोग गर्दा तथ्याङ्क सङ्कलकहरू प्रत्येक घरमा पुगेर आफ्नो मोबाइलमा भएको सफ्टवेयरमा तथ्याङ्क भर्नेछन् ।

यसरी तथ्याङ्क सङ्कलन गर्दा करिब १५ दिनमा सबै वडाको तथ्याङ्क आइसक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले तथ्याङ्क सङ्कलकहरूलाई मङ्गलबारदेखि तालिम दिन थालेको छ ।