राजनीति

तेस्रो पटक नेपालको भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं, २८ बैशाख ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्।  ४१ सदस्यी टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका मोदी हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर अवतरण  गर्नेछन्। उनी भारतीय राज्य विहारको पटनाबाट जनकपुर आउन लागेका हुन्।
जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम छ। जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। उनी आजै काठमाडौं आउने छन्।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नेछन्। मोदीले आजै उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्। त्यसका लागि उनी क्रमश बहादुर भवन र शीतल निवास पुग्नेछन्। मोदी शनिबार बिहान मुक्तिनाथ प्रस्थान गर्नेछन्।
मुक्तिनाथबाट फर्किएर मोदीले पशुपतिनाथमा दर्शन गर्नेछन्। भोलि दिउँसो पौने ३ बजे उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। मोदी शनिबार बेलुका ४ बजे दिल्ली प्रस्थान गर्नेछन्।
यसैबीच, राजकीय भ्रमणको स्वरुपमा नेपाल आउन लागेका प्रधानमन्त्री मोदीको यसपटकको नेपाल भ्रमणलाई ‘धार्मिक तथा सांस्कृतिक भ्रमण’को संज्ञा समेत दिइएको छ। यद्यपी भ्रमणका क्रममा राजनीतिक भेटघाट हुने भएपनि दुई देशबीच कुनै विशेष सम्झौतामा हस्ताक्षर हुने तयारी भएको छैन।
पहिलो नेपाल भ्रमणमा आएका बेला नेपालको संसदमा सम्बोधन गरेका मोदीले यसपटक भने जनपकुरस्थित बाह्रबिघा मैदानमा नै आफ्नो विशेष सम्बोधन गर्ने बताइएको छ।