समाचार

विमानस्थलमा क्षतिग्रस्त विमान अझै हटाइएन

बाजुरा, १० बैशाख । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन्। गत जेठ १६ गते दुर्घटना भएको उक्त विमान विमानस्थलको धावनमार्ग अगाडि राखिएको छ। क्षतिग्रस्त विमान कोल्टी विमानस्थलमा छ। विमानस्थलमा अवतरण र उडान हुने तारा, गोमा, मकालुलगायतका जहाजका पाइलट र यात्रुले सजिलै देख्ने गरेका छन्।

गत जेठमा भएको उक्त दुर्घटनामा नेपाली सेनाका विमान चालक कौशल गुरुङको घटनास्थलमा नै मृत्यु भएको थियो भने सहचालक भएको एक जना गम्भीर घाइते भएका थिए। जेठ १६ गते मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा नेपाली सेनाको सामान बोकेको विमान कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको थियो।

दुर्घटना भएको विमानमा आगो लागेको थियो। स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका थिए। एनए ०४८ कल साइनको नेपाली सेनाको उक्त विमान सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि सामान बोकेर उडेको थियो। सिमीकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो।

दुर्घटना भएको जहाज नहटाउँदा जहाज उडानका लागि समस्या भएको चालकहरु बताउँछन्। यता नागरिक उड्डयन कार्यालय कोल्टीले विमान हटाएर अन्यत्र राख्ने ठाउँ नहुँदा धावनमार्गको छेउमै राखेको बताएको छ।