समाचार

प्रदेश ५ को बजेट आज ल्याइँदै

बुटवल, ३० चैत । प्रदेश ५ सरकारले शुक्रबार चालु आर्थिक वर्ष २०७४\०७५ का लागि बजेट ल्याउँदै छ। चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि केन्द्र सरकारले समानीकरण अनुदानअन्तर्गत पठाएको एक अर्ब दुई करोड पाँच लाख रूपैयाँलाई बजेटको स्वरूप दिएर प्रदेशसभामा पेश गर्न लागेको हो। 
प्रदेशसभाको शुक्रबार अपराह्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्नेछन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालु आर्थिक वर्ष २०७४-०७५ को बाँकी अवधिको लागि राजस्व र व्ययको अनुमानित बजेट वक्तव्य प्रदेशसभामा पेश गर्नका लागि स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।  
बजेटको अधिकांश अंश प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सांसद्हरू र कर्मचारीको तलबमा खर्च हुनेछ। बाँकी रहेको रकमलाई सरकारले प्रारम्भिक अध्ययनमा खर्चिने योजना बनाउँदै मन्त्रालयहरुलाई केही लाख बजेट दिएको छ। जसबाट मन्त्रालयहरूले प्रारम्भिक अध्ययन गर्दै आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि खाका तयार पार्नेछन्।  
प्रदेश सरकारले ल्याएको नीति कार्यक्रममा उल्लेख भएका अधिकांश योजनाका शीर्षकमा सरकारले बजेट छुट्याएको छ। सरकारले ल्याएका लोकप्रिय कार्यक्रम मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम, सिद्धबाबा क्षेत्रको पहिरो नियन्त्रण, उपमहानगर आसपासमा आधुनिक चिडियाखाना र वनस्पति उद्यान निर्माण, पर्यटकीय स्थलको विकासलगायतको लागि सम्भाव्यता अध्ययनमा न्यूनतम पाँच लाखसम्मको बजेट छुट्टयाइएको छ।  ऐतिहासिक, पूरातात्विक स्थलको संरक्षण तथा विकास, निकुञ्जहरु, शीतभण्डार स्थापनाबारे पनि विस्तृत अध्ययन गर्न बजेट तोकिनेछ।  यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय महत्वका आयोजनाको अनुगमन तथा कामकारबाहीबारे अध्ययन गर्न, बेरोजगार युवाको तथ्यांक संकलन, साक्षरता कार्यक्रमलगायतलाई पनि बजेटमा समावेश गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। 
सरकारले मन्त्रालयगत रणनीति तयार गर्न प्रत्येक मन्त्रालयलाई न्यूनतम पाँच लाखसम्मको रकम दिने कार्यक्रम बजेटमा समावेश गरेको छ।