चलचित्र

‘शत्रु गते’ को ओपनिङ आक्रामक

काठमाडौं, १० चैत । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी प्रदर्शनमा आएको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ले सिंगल र मल्टिप्लेक्स स्क्रिन सबैतिर आक्रामक व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार सबै हल हाउसफूल रहेको हल व्यवसायीले बताएका छन् । शुक्रवार बिहानैदेखि अधिकांश हलमा दर्शकको चाप देखिन्थ्यो । शनिबार सार्वजनिक विदा परेका कारण दर्शकको चाप अझ बढ्ने निर्माण पक्षले दाबी गरको छ । चलचित्रको गीत र स्टार कास्टकै कारण पनि एकातिर चलचित्र निकै नै प्रतिक्षित बनेको हो भने अर्कोतिर उनीहरुको अग्निपरीक्षा पनि शुरु भएको छ ।  
शुक्रबारको बिहानी शो मा ‘शत्रु गते’ अकुपेन्सी ६०, दिवा शो मा ९० र रात्री शो मा ६० प्रतिशतको आसपास रहेको निर्माण पक्षको दाबी छ । सिंगल र मल्टिप्लेक्समा फिल्म हेरेका दर्शकले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । देश दौडाहाबाटै उत्कृष्ट प्रतिक्रिया मिलेको चलचित्रको पहिलो व्यापारले निर्माण पक्षलो झन उत्साह थपेको छ । 
निर्देशक प्रदीप भट्टराई दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे । बिहानैदेखि राजधानीका हल चहारिरहेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा पनि दर्शकबाट मिलेको प्रतिक्रियाबाट उत्साहित भए । दर्शककाे प्रतिक्रिया बाट चलचित्रका अभिनेता दीपकराज गिरी सबैभन्दा बढी दंग देखिए । 
काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थले फिल्मको ओपनिङ अकुपेन्सी सुखद रहेको बताए । चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
फिल्ममा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीत अहिले चर्चामा छ । साथमा, फिल्मको ट्रेलरमा देखिएको कमेडी, कलाकारको अभिनय र संवादले पनि यसलाई प्रतिक्षित बनाएको हो । 
यसैबीच, शुक्रवार ११ बजे काठमाडौंको कुमारी हलमा आयोजना गरिएको प्रेस शो मा पनि सञ्चारकर्मीले फिल्मको तारिफ गरेका छन् । सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।