समाचार

किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार

काठमाडौं, ७ चैत । मानिसक अपाङ्गता भएको १५ वर्षीया किशोरीमाथि समूहिक बलात्कार भएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किशोरीलाई दुई समूहले सामूहिक बलात्कार गरेका हुन् । घटनामा सातजना भन्दा बढी संलग्न थिए । 'किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी भइरहेको छ । घटनाको विवरण अहिले गोप्य राखिएको छ' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने । 
परिसरका डिएसपी मोहन थापाले किशोरीलाई बसका चालक, सहचालकसहितका छुट्टाछुट्टै दुई समूहले सामूहिक बलात्कार गरेको बताए । 
यसरी भयो घटना
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार किशोरी १५ फागुनमा कीर्तिपुरबाट बल्खुका लागि सार्वजनिक बस चढेकी थिइन् । तर, उनी बल्खु झरिनन् । बसमै चढेर ललितपुरको हरिसिद्धि गइन् । त्यसवेलासम्म बसबाट सबै यात्रु ओर्लिसकेका थिए । बसको पछाडिको सिटमा उनी एक्लै रहेको देखेपछि सहचालकले समाते । फकाउँदै गोदावरीस्थित कोठामा लगे । बेलुकाको खाना बसका चालक र सहचालकले नै खुवाए । उनीहरूले मादक पदार्थ सेवन गरे । अनि पालैपालो बलात्कार गरे ।
एक हप्ताभन्दा बढी समय उनीहरूले किशोरीलाई त्यही कोठामा बन्धक बनाए । एक दिन किशोरी भागिन्, तर बसका सहचालकले उनलाई बाटैमा फेला पारे । पुनः समातेर अर्को समूहको जिम्मा लगाइदिए । अर्को समूहमा रहेकाहरूले पनि किशोरीलाई आफ्नो कोठामा पु¥याएर पालैपालो बलात्कार गरे । प्रहरीका अनुसार २९ फागुनमा उनीहरूले किशोरीलाई स्वयम्भूमा लगेर छाडिदिए । त्यसपछि उनी घर पुगिन् ।
घटना विवरण बुझेपछि किशोरीका परिवारले प्रहरी परिसर काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा हाले । त्यसपछि चार अभियुक्त पक्राउ परे । बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । परिसरका डिएसपी थापाले भने, ‘पक्राउ परेका अभियुक्तबारे अहिले केही खुलाइएको छैन । घटना अनुसन्धानकै क्रममा रहेकाले विवरण नखुलाइएको हो । घटनामा संलग्न सबै अभियुक्त पक्राउपछि उनीहरूलाई सार्वजनिक गरिनेछ ।’आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।