विश्व

दक्षिण कोरिया र अमेरिकी संयुक्त सैन्य अभ्यास

अमेरिका, ७ चैत । अमेरिकी रक्षा विभाग, पेन्टागनले सोमबार दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास आगामी अप्रिल १ देखि पुनः सुरु गर्ने बताएको छ । यता ट्रम्प र किमबीच सम्भावित भेटवार्ताको कार्यक्रम अघि बढिरहेतापनि पेन्टागनले सैन्य कार्यक्रम जारी राख्ने बताएको हो ।
गतवर्ष पनि अमेरिकी सेना र दक्षिण कोरियाको विशाल सैन्य कार्यक्रमलाई लिएर उत्तर कोरियाले गम्भीर आपत्ति जनाएको थियो भने संयुक्त राष्ट्र संघसमक्ष विदेशमन्त्री रि योङहोले चेतावनी समेत दिएका थिए । 
उक्त सैन्य अभ्यासलाई युद्धको तयारी बताउँदै उत्तर कोरियाले कार्यक्रम जारी राखेमा भयानक परिणाम भोग्नुपर्ने धम्की दिएको थियो । यस्तोमा उत्तर कोरिया र अमेरिकाबीच बैठक बस्ने तयारी भइरहँदा यो विषय झन संवेदनशील मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । 
गत महिनाको ओलम्पिक समारोहमा उत्तर कोरिया पनि सहभागी हुने भएपछि दक्षिण कोरियाले अमेरिकालाई सैन्य अभ्यास स्थगित गराउन आग्रह गरेको थियो । अमेरिका र दक्षिण कोरियाले यस कार्यक्रमलाई शान्तिपूर्ण र सामान्य प्रशिक्षण बताउँदै आएका छन् । त्यसैले यो अभ्यास प्रतिरक्षा प्रधान भएको हुँदा उत्तर कोरियाले चिन्ता व्यक्त गर्नुपर्ने कुनै कारण नभएको पेन्टागनका प्रवक्ता लोगानले बताएका हुन् । लामो समयदेखि यसको तरिका र प्रक्रिया परिवर्तन नगरिएको र दुवै देशले यसलाई समान्य रुपमा लिएको स्पष्ट रहेको उनको भनाइ छ । अमेरिकाले कोरियाली प्रायःद्विपको राजनीतिक अवस्था हेरेर सो कार्यक्रम सुरु नगरेकाले पनि उत्तर कोरियासँग यसको कुनै सम्बन्ध नरहेको प्रवक्ता लोगानले बताएका हुन् ।
सो कार्यक्रम अन्र्तगत अमेरिका र दक्षिण कोरियाले ‘फोल इगल’ र ‘कि रिसल्भ’ गरी दुई किसिमको अभ्यास गर्ने बताइएको छ । ‘कि रिसल्भ’ कमान्ड र कन्ट्रोल अभ्यास हो जसमा थुप्रै कम्प्युटर र प्रविधिको प्रयोग गर्ने गरिन्छ । यसमा १२ हजार अमेरिकी सेना र १० हजार दक्षिण कोरियाली सेना सहभागी हुने लोगानले बताए । त्यसैगरी फोल इगलको प्रशिक्षणमा भने वास्तविक मैदानमा बच्ने प्रतिरक्षात्मक तरिका सम्बन्धी अभ्यास गरिने गरिएको बताइएको छ ।
यसमा ११ हजार अमेरिकी सेना र २ लाख दक्षिण कोरियाली सेनाको सहभागीता रहने गरेको छ । गतवर्षको कार्यक्रममा अमेरिकाबाट थुप्रै हातहतियार र लडाकू विमान ल्याइएको थियो । 
जसबेला अमेरिकासामु क्षमता प्रदर्शन गर्दै उत्तर कोरियाले पनि जवाफस्वरुप जापानतर्फ चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।