चलचित्र

‘ब्ल्याक’लाई पर्खिदै प्रदीप

काठमाडौं, ७ चैत । नेपाली चलचित्र ‘डर’को सार्वजनिक प्रदर्शन भएपछि प्रदीप श्रेष्ठलाई नयाँ प्रविधिको निर्देशकको रुपमा हेरिन थालिएको हो । त्यसपछि मात्र सविर श्रेष्ठले कस्ले चो¥यो मेरो मन निर्देशन गरिसकेपछि नयाँ प्रविधिका थुप्रै निर्देशकको चलचित्र बजारमा आगमन भयो । 
थुप्रै चलचित्रहरुमा सह निर्देशन गरिसकेपछि पुराना निर्माता छवी ओझाले ‘अजम्बरी नाता’बाट श्रेष्ठलाई निर्देशनमा डेब्यु गराएका हुन् । चलचित्र अजम्बरी नाताले बक्स अफिसमा चर्चा बटुल्नुका साथै व्यावसायिक सफलता पनि हात पारेको थियो । त्यसपछि प्रदीपले लगातार दुई पल, मेरो मनको साथी, कबज, सपना, सडक लगायत एक दर्जन बढी चलचित्र निर्देशन गरे । रोज राणाको चलचित्र ‘जय परशुराम’को तयारीको शिलशिलामा दुर्घटनामा परी घाइते भएपछि उनी चलचित्रबाट टाढिए । लामो गृहकार्यपछि उनले अहिले पछिल्लो चलचित्र ब्ल्याक लिएर आएका छन् । चलचित्रको प्राविधिक कार्य धमाधम भइरहेको छ । निर्माण युनिटले चलचित्रको प्रचारप्रसारलाई पनि तिव्रता दिन थालेको छ । यही क्रममा ‘ब्ल्याक’को पहिलो गीत पनि सार्वजनिक भइसकेको छ । ‘चङ्गा जस्तै मन चैट‘’ बोलको गीतमा प्रतिक पौडेलको शब्द, संगीत र स्वर छ । उक्त गीतमा आँचल शर्मा र आकाश श्रेष्ठ फिचरिङ भएका छन् । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतलाई रामशरण उप्रेतीले खिचेका हुन् । सिनेमाको गीत रिलिज कार्यक्रममा आँचल शर्मा भने उपस्थित भइनन् । 
आश्मा फिल्मस प्रालिको व्यानरमा ‘ब्ल्याक’लाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । प्रदीप श्रेष्ठ निर्देशित सिनेमाको आधिकारिक रिलिज डेट जेठ ११ तोकिएको छ । फिल्ममा आँचल र आकाशका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनय छ । एक्सन लभस्टोरी जनराको सिनेमा मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ, भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेले कोरियोग्राफी भरेको सिनेमामा अर्जुन जिसीको सम्पादन छ । सिनेमालाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन्, भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे सिनेमाका कार्यकारी निर्माता हुन् ।