समाचार

नेपालकाे भिषा शुल्क समीक्षा गर्न अमेरिकी राजदूतकाे अाग्रह

काठमाडाैं, २ चैत । अमेरिकी राजदूत अलाइन टेप्लिजले नेपाल आउने अमेरिकीहरुका लागि भिषा शुल्क महँगो भएको भन्दै समीक्षा गर्न अाग्रह गरेकी छिन्। गृहमन्त्री रामबहादुर थापासँगको भेटमा बिहीबार राजदूत टेप्लिजले यस्तो प्रस्ताव गरेकी हुन्।

‘कुनै नेपाली अमेरिकामा ५ वर्ष बस्दा भिषा शुल्कबापत जति रकम अमेरिकी सरकारलाई बुझाउँछ, नेपाल अमेरिकीले त्यति रकम ३ महिना नेपालमा बस्दा तिर्नुपर्ने स्थिति छ’ राजदूत टेप्लिजले गृहमन्त्री थापासँग भनिन्।

अध्यागमन विभागका अनुसार नेपालमा आउने अमेरिकी पर्यटकले १–१५ दिनका लागि ३० डलर, त्यसपछि हरेक दिनकालागि २ डलरका दरले लिने गरिएको छ। मल्टिपल भिसाका लागि थप २० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।

राजदूत टेप्लिजले नेपालमा शरण लिइरहेका तिब्बतीलाई शरणार्थी परिचय पत्र दिनपनि गृहमन्त्री थापालाई सुझाएकी थिइन्। शरणार्थी परिचय पत्र दिँदा पहिलेजस्तो चीनको विरोध नहुने बताउँदै उनले यस्तो सुझाव दिएकी हुन्।

‘पहिले पो चीनले विरोध गथ्र्याे, तपाईंहरुलाई अप्ठेरो थियो’ राजदूत टेप्लिजकाे भनाइ उदृत गर्दै स्राेतले भन्याे, 'अब त्यो अप्ठेरो छैन। चीनले विरोध गर्दैन।’

नेपालमा शरण लिइरहेका तिब्बती शरणार्थीहरुलाई नेपालले २०५६ यता परिचय पत्र बितरण गरेको छैन। यसको कारण चीनको विरोध असन्तुष्टि र नेपालको राजनीतिक अस्थिरता भएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन्।

जवाफमा गृहमन्त्री थापाले अध्ययन गरेर आवश्यक कदम चालिने विश्वास अमेरिकी राजदूत टेप्लिजलाई बताएका थिए।

मन्त्री थापा र राजदूत टेप्लिजबीच सिंहदरवारस्थित गृहमन्त्रालयमा भेटवार्ता भएकाे हाे।