विश्व

विश्वको खुसी राष्ट्रहरुको सूचीमा भारतभन्दा नेपाल अगाडि

एजेन्सी, १ चैत । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क) ले विश्व खुसी दिवसका अवसरमा गरेको सर्वेक्षणको सूची सार्वजनिक गरेको छ । यस शीर्षकमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको नर्वे यसवर्ष भने दोस्रोमा झरेको छ । सर्वेक्षणका अनुसार अहिले विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड रहेको छ ।

जनताको आय, स्वतन्त्रता, विश्वास, सुरक्षा, स्वास्थ्य जीवनको सम्भाव्यता, सामाजिक सहकारिता र उदारतालाई हेरेर गरिएको अध्ययनका आधारमा वर्ष वर्षमा यस्तो सूची तयार पार्ने गरिएको छ । शीर्ष स्थानमा पर्ने अन्य मुलुकहरुमा भने डेनमार्क, आइसल्यान्ड, स्वीट्जरल्यान्ड रहेका छन् । पहिलो स्थानमा रहेको फिनल्यान्डमा आप्रवासीहरु समेत विश्वभरमै सबैभन्दा खुसी अवस्थामा रहेको पाइएको विशेष रिपोर्टले जनाएको हो । 

त्यसैगरी छैठौँ स्थानमा नेदरल्यान्ड रहेको छ भने यसको पछि क्यानडा, न्युजिल्यान्ड, स्वीडेन र अस्ट्रेलिया  रहेका छन् ।

रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल चाहिँ ९९ औँ स्थानमा रहेको छ । पछिल्लो वर्ष ११८ औँ स्थानमा रहेको भारत यसवर्ष झन तल झर्दै १२२ नम्बरमा नेपालभन्दा धेरै पछाडि पुगेको हो । 

सार्कका अन्य मुलुकहरुमा पाकिस्तान ८० औँ स्थानमा, भुटान ९७ मा, बांग्लादेश ११० र श्रीलंका १२० मा रहेको छ । पछिल्लो समय आर्थिक विकासमा निकै ठूलो उपलब्धि हासिल गरेपनि खुसी राष्ट्रको  सूचीमा भने चीनले ८६ औँ स्थान प्राप्त गरेको छ । विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिका पनि गत वर्षभन्दा चार स्थान तल झर्दै १८ मा पुगेको छ । त्यस्तै रुसले ५९ औँ स्थान पाएको छ भने बेलायतले चाहिँ १९ औँ स्थान बनाउन सफल भएको छ ।

उक्त सूचीमा सबैभन्दा पछि पर्दै दुःखी राष्ट्रमा  सेन्ट्रल  अफ्रिकन रिपब्लिक १५५ मा, दक्षिणी सुडान १५४ मा र यमन १५२ औँ स्थानमा रहेको छ । 

कूल १५६ मुलुकहरुमा गरिएको यस परीक्षणमा बुरुन्डीले भने अन्तिम स्थान हासिल गरेको हो । सन् २०१२ मा पहिलोपटक संयुक्त राष्ट्रसंघले यो सर्वेक्षण सुरु गरेको थियो । यो सूची भने २०१५ देखि २०१७ सम्मको सर्वेक्षणका आधारमा तयार पारिएको बताइएको छ ।