समाचार

अब २० वर्ष पुराना सवारी साधन गुडाए जफत

काठमाडाैं, १ चैत । सरकारले आजबाट देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। २० बर्ष पुराना सार्वजनिक सवारीसाधनका कारण वातावरण प्रदुषण एवं सडक दुर्घटना बढेकाे भन्दै सरकारले अाजबाट याे नियममा कडार्इ गरेकाे हाे ।

२० वर्ष नाघेका सार्वजनिक यातायात गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। २०७२ चैत्र १ गते बसेको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सार्वजनिक सवारीसधान विस्थापन गर्ने निर्णय गरेको थियो ।

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएकाे भएपनि याे अवधिमा थोरै सवारी धनीले मात्र बुझाएका छन् । दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन्।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो। विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ। विद्युतीय टेम्पो हाल उपत्यकामा ६ सय र उपत्यका बाहिर २ सय छन्। ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको छ । हाल देशभर पाँच हजार ५ सय वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक विभागसँग छ।