विश्व

अमेरिकी विदेशमन्त्री टिलरसन बर्खास्त

अमेरिका, ३० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गरेका छन् । अब विदेशमन्त्रीका लागि सीआइए प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने जनाइएको छ । 
राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमार्फत यस्तो घोषणा गरका हुन् । उनले विदेशमन्त्रीका रुपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद पनि दिएका छन् । 
‘विदेशमन्त्रीका रुपमा गरेको योगदानका लािग रेक्स टिलरसनलाई धन्यवाद’, ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेका छन् । 
अमेरिकी इतिहासमा नै सीआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गरेका छन् । हास्पेल सीआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला भएकी छिन् । 
टिलरसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकाले उनलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको ट्रम्पले सञ्चारकर्मीलाई बताएका छन् । उनले भने–‘ ‘इरान आणविक सम्झौता मेरो विचारमा सकारात्मक छैन तर टिलरसनले यसलाई ठिक भन्नुहुन्छ । कि सम्झौता भंग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो । तर उहाँले केही फरक सोच्नुभयो । त्यसैले हामीले सहकार्य गर्न सकेनौं ।’

यसैबीच, बर्खास्त भएका अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसनले अमेरिकामाथि रुसका कारण खतरा रहेको बताएका छन् । विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै टिल्लरसनले रुसको समस्या उत्पन्न गर्न सक्ने व्यवहार र कामका कारण अमेरिकालाई खतरा रहेको बताएका हुन् । उनले आफ्नो कार्यकालमा चीनसँग सम्बन्ध सुधार तथा उत्तर कोरियाको आणविक कार्यक्रमलाई नियन्त्रण गर्नका लागि काम भएको र त्यो निकै सकारात्मक दिशामा अघि बढेको उल्लेख गरे । तर रुससँगको सम्बन्ध तथा उसको व्यवहारका कारण उत्पन्न हुन सक्ने खतरा भने कायम रहेको टिल्लरसनको भनाई छ ।

टिल्लरसनले आफ्नो विदेश नीतिको प्रशंसा गरे तर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने धन्यबाद पनि भनेनन् । यसले उनीहरुबिचको सम्बन्धमा ठूलै दरार आएको प्रष्ट हुने विश्लेषण गरिएको छ । गएको वर्ष विदेशमन्त्रीमा नियुक्त भएयता ट्रम्प र टिल्लरसनबिच विभिन्न मुद्दामा मतभेद हुँदै आएको थियो । त्यसैको फलस्वरुप ट्रम्पले मंगलबार उनलाई बर्खास्त गरेका हुन् । उत्तर कोरियसँग हुने भनिएको वार्ताको तयारीका बिचमा ट्रम्पले विदेशमन्त्रीलाई हटाउनु अर्थपूर्ण रहेको सिएनएनका राजनीतिक निर्देशक डेविड चालियनले बताएका छन् ।