खेलकुद

विश्वकप यात्रा टुंगियाे, अब अाशा एक दिवसीयकाे

काठमाडौं, २९ फागुन । आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा जित हात पारेसँगै  एकदिवसीय मान्यताको आशा पलाएको छ । समुह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै समुह बीको चौथो स्थानमा उक्लिएको हो । नेपालको विश्वकप खेल्ने सम्भावना टुङिए पनि एकदिवसीय मान्यताको सम्भावनाको ढोका भने खुलेको छ ।
१ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ औं ओभरमा सो लक्ष्य पुरा गर्दै तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालको आज ओपनिङ केहि सुधारिएको देखियो । ज्ञानेन्द्र मल्लले १२ रन जोडे भने अनिल शाहले २६ रन बनाएका थिए । त्यस्तै आज कप्तान पारस खड्का ११ रनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र ऐरी १२ र आरिफ शेख २ रनमा आउट भएका थिए ।
एक समय नेपालको ५ विकेटको क्षतिमा ६६ रन थियो । तर सोमपाल कामी र रोहित पौडेलको शानदार साझेदारी नेपालको जितको आधार रह्यो । रोहितले ८६ बलमा ४८ रन बनाए भने सोमपालले ४० बलमा ३७ रनको योग्दान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडेका थिए । उनलाई ललित राजवंशीले आउट गरेका थिए । त्यस्तै कप्तान बाबर हायतले २० रन जोडेका थिए । तन्विर अफ्जालले १० रन जोडे र अन्त्यमा एहसान खानले २५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
खेलमा सन्दिप लामिछानेले ३ विकेट लिए भने वसन्त रेग्मीले दुई विकेट लिए । सन्दिपले १० ओभरमा ४ मेडेन राख्दै केवल १७ रन दिए भने वसन्तले आफ्नो १० ओभरमा केवल २० रन खर्चेका थिए । करण केसीले दुई र सोमपाल कामीले पनि एक विकेट लिएका थिए ।
नेपालले अब समूह ‘ए’मा पाँचौं रहेको पपुवा न्यु गिनीको सामना गर्ने छ । सो खेल जितेमा नेपालले सातौं स्थानको प्ले(अफ खेल्ने छ । नतिजा अनुकुल रहे नेपालले एक दिवसीय मान्यता पनि पाउने छ ।