मनोरंजन

क्यान्सर सम्बन्धी उन्मुक्तिको विषयमा संस्मरण लेख्दै मनिषा

काठमाडौं, २७ फागुन । विगत नौ वर्षदेखि क्यान्सरका विरामीको उपचारको साथै यसबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था क्यान्सर केयर नेपालले वलिउड नायीका मनिषा कोइरालालाई सो संस्थाको मानार्थ अध्यक्षको पद प्रदान गरेको छ । 
क्यान्सर केयर नेपाल एवम् नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि राजधानीमा शुरु भएको एशियाली क्यान्सर सम्मेलनमा नायीका कोइरालालाई सो पद प्रदान गरिएको हो । क्यान्सर केयर नेपाल एवम् नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरका अध्यक्ष डा.मदनकुमार पिया र सचिव प्रा.श्यामकृष्ण जोशीले नायीका कोइरालालाई सो पद हस्तान्तरण गरेका थिए । 
५ वर्षअघि क्यान्सर भएर पनि हरेस नखाई क्यान्सर रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी नायीका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको संस्थाले जनाएको छ । 
एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरि उपचार गर्न जनचेतना फैलाउने र विशेषज्ञहरुद्धारा उपचारको ज्ञान, शीप तथा प्रविधि आदान प्रदान गर्ने उद्धेश्यसहित आयोजित सम्मेलनमा नेपाल लगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । 
तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ विशेष गरि स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे अद्यावधिक गराउने उद्धेश्यले आयोजना गरिएको हो । मानार्थ अध्यक्षको पद ग्रहण गरेपछि नायीका कोइरालाले पाँचवर्षअघि चिकित्सकले आफुलाई क्यान्सर भएको कुरा सुनाएपछि आफु स्तब्ध भएको स्मरण गर्दै उनले भनीन ‘समयमै रोग पत्ता लागेर उपचार गरेकोले म ठीक भएँ ।’ 
स्वस्थ जीवनशैली र खानपीनका कारण क्यान्सर लाग्ने संभावना कम हुने बताउँदै नायीका कोइरालाले समयमै क्यान्सर पत्ता लगाउन सके ८० देखि ९० प्रतिशतको क्यान्सर निको हुने पनि बताइन । उनले भनीन ‘मजस्तै अरुलाई पनि समयमै क्यान्सर लाग्नबाट जोगाउने क्यान्सर केयर नेपालको काममा म सँधै सक्रिय रहन्छु ।’ 
आफुलाई क्यान्सर भएपछि विताएका जटिल समयको स्मरण गर्दै आफु स्मरणात्मक किताव लेख्न लागेको नायीका कोइरालाले बताइन । क्यान्सर केयर नेपाल एवम् नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियाले संस्थाले नेपालका गरीव तथा निमुखा क्यान्सररोगीको उपचारमा मात्रै नभई  क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताए । 
क्यान्सर केयर नेपालका सचिव प्रा.श्यामकृष्ण जोशीले संस्थाद्धारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई १०० शैय्याको बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै नेपाल सरकारले क्यान्सररोगीको लागि उपलब्ध गराउँदै आएको १ लाख रुपैयाँमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सररोगीको उपचार गर्दै आएको बताए ।
त्यस अवसरमा सम्मेलनको साइन्टिफिक कमिटिकी अध्यक्ष डा. सन्ध्या चापागाई, डा. रश्मी पुन गुरुंग, भारतकी डा.कन्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यलगायतले बोलेका थिए भने सम्मेलनको सफलताको लागि हिमानी ट्रष्टकी अध्यक्ष पुर्व युवराज्ञी हिमानी शाहद्धारा पठाइएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
त्यस अवसरमा नेपालको पहिलो क्यान्सर विशेष डा.तारा मानन्धर, डा. मिलननाथ पाण्डे, रोटरी क्लव अफ यल, नविना मल्ल, सुदेष्णा र श्रीधर श्रेष्ठ तथा विद्यार्थीद्धय शाम्भवी आचार्य र किमाया गुरुंगलाई नायीका कोइरालालै सम्मान गरेकी थिइन् ।