मनोरंजन

संरक्षण पुनः पर्दामा आउँदै, होलीलाई टार्गेट

काठमाडौं, फागुन । अभिनेता द्वय निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ । गएको साउन २७ गते देशव्यापी प्रदर्शनमा आएको संरक्षण पुनः होलीलाई लक्षित गरी प्रदर्शनमा ल्याउन लागिएको हो । 
चलचित्र पहिलो पटक प्रदर्शनमा आएको समयमा लगातारको वर्षाले तराईका अधिकांश भू–भाग डुबानमा परेपछि फिल्मले अपेक्षा अनुसार दर्शकको साथ पाउन सकेको थिएन । निर्माता प्रदीप कुमार उदयका अनुसार, विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा चलचित्र पुनः रिलिज गरिनेछ । फिल्मले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पु¥याएको छ भन्ने कथालाई उठान गरेको छ । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । ‘संरक्षण’मा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रञ्जन, अशिष्मा नकर्मी, रमेश बुढाथोकी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ । फिल्ममा नायक निखिल उप्रेती ‘एसपी खरेल’ र सौगात मल्ल ‘डीएसपी थारु’ को भूमिकामा देखिएका छन् । श्रावणमा आएको बाढीका कारण व्यापारमा अवरोध आएको भन्दै ‘संरक्षण’लाई फेरि रिलिज गर्न लागिएको हो । 
चलचित्र संरक्षण हल व्यवसायीहरुले निर्माण गरेको चलचित्र हो । नयाँ चलचित्रले सोलो डेट नपाएको अवस्थामा निर्माण व्यवसायीहरुकै हालीमुहालीका कारण चलचित्र पुनः प्रदर्शनमा ल्याउन लागिएको हो । पहिलो पटक प्रदर्शनमा आउँदा चलचित्र खासै नचलेपछि वितरक तथा निर्माताहरुले होली उपयुक्त ठानेर अहिले प्रदर्शनमा ल्याउन लागेको बुझिएको छ ।