राजनीति

६८ औं प्रजातन्त्र दिवस, मुलुकभर विभन्न कार्यक्रम

काठमाडाैं, ७ फागुन ।  आज फागुन ७ अर्थात्, ६८ औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

राणा शासनको अन्त्य भएपछि तत्कालीन राजा त्रिभुवनले आजैका दिन देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नुभएको थियो । २०४६ तथा ६२÷६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने अभियानको रूपमा पनि लिइन्छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिको सन्देश
 राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । 

प्रजातन्त्र दिवस–२०७४ का अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, “हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो ।” 

६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले यस दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । 

विसं २००७ फागुन ७ गतेका दिन निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ । प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा विसं २०४६ र २०६२÷६३ मा सफल आन्दोलन भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सबै आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेको उल्लेख गर्नुभएको छ । 

उहाँले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले हामी सबै नेपालीमा दिन सकोस् भन्ने कामना पनि गर्नुभएको छ । 

उपराष्ट्रपतिको सन्देश
 उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । 

आज दिनु भएको एक सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने ती महान् वीर वीराङ्गनाहरुलाई स्मरण गर्दै उहाँहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । 

सन्देशमा उहाँले विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिहरु संस्थागत हुने क्रम तथा नयाँ संविधानको पूर्ण कार्यान्वयनका क्रममा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भई सबै तहमा नयाँ सरकार गठन भइसकेको पनि उल्लेख गर्नुभएको छ । 

उहाँले यससँगै धेरै वर्षदेखिको राजनीतिक संक्रमणकाल अन्त्य भई नेपालमा राजनीतिक स्थायित्व प्रारम्भ भएको र मुलुक आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । 

उहाँले प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै आर्थिक समृद्धिका लागि सहकार्य गर्न सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल पनि गर्नुभएको छ ।

प्रधानमन्त्रीको सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । साथै, उहाँले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

शुभकामना सन्देशमा भनिएको छ, “देशमा हालै सम्पन्न संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धनलाई अत्यधिक मतले विजयी गराउनुभएको प्रति सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।” 

सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु भनिएको छ । 

वर्तमान सरकार आर्थिक चुनौतीको सहज व्यवस्थापन गर्दै संघीयताको सफल कार्यान्वयन गर्दै आगाडि बढ्ने र त्यसका लागि वित्तीय अनुशासन र मितव्ययिता कायम गर्दै जनताको चाहनाअनुसारका विकास कार्यक्रम तीव्रताका साथ सञ्चालन गर्न सबैको सहयोग रहने विश्वास लिएको सन्देशमा उल्लेख छ । 

नेताहरुको सन्देश
 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सकेमात्र शहीदप्रतिको सम्मान हुने बताउनुभएको छ । 

प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना वक्तव्यमा उहाँले देशमा प्रजातन्त्र÷लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ सपुतले प्रजातन्त्र÷लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्नुभएको छ । 

फागुन ७ गते नेपाली जनसंघर्षको इतिहासको एक अविस्मरणीय दिन भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले विसं २००७ को कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गर्नुभएको छ । 

उहाँले देशमा केबल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूलरूपमा अग्रगामी परिवर्तन ल्याएको भन्दै जातजाति, धर्म, लिङ्ग वा वर्गका आधारमा हुने भेदभाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको बताउनुभएको छ । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । 

अध्यक्ष राणाले आज विज्ञप्ति जारी गरेर प्रजातन्त्रप्राप्तिका लागि प्राण उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि दिनुभएको छ । मुलुकमा स्थापित राजनीतिक प्रणालीअनुसार राज्यको सबै तहमा निर्वाचित जनप्रतिनिधि बहाल भइसकेको अवस्थामा देशको समृद्धि र जनताको विकासका लागि दल क्रियाशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पनि आज विज्ञप्ति जारी गरी उक्त दिवसले मुलुकको राष्ट्रिय अखण्डताको रक्षा गरी समृद्ध नेपाल बनाउने विषय सबै दलको साझा मुद्दा निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।