खेलकुद

नेपाली क्रिकेट टोलीको भव्य स्वागत

काठमाडौं, ६ फागुन । विश्व कप क्रिकेटको छनोटमा स्थान पक्का गरेको नेपाली क्रिकेट टोली शनिबार साँझ स्वदेश फर्किएको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता बन्दै फर्केको हो ।
नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समर्थकले भव्यस्वागत गरेका थिए । झन्डै ३ सयको हाराहारीमा विमानस्थल पुगेका समर्थकले टोली र कप्तान पारस खड्का पक्षमा नारा लगाएका थिए । राउन्ड रोविन लिगको अन्तिम खेलमा क्यानाडालाई हराउँदै विश्व कप छनोटमा पुग्न सफल नेपाल डिभिजन २ को उपाधि भिडन्तमा कप्तान पारसको शतकका बावजुद पराजित भएको थियो । जिम्बावेमा विश्व कप छनोट मार्चमा हुनेछ ।
त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा शनिबार राति ९ बजे क्यानका कार्यसञ्चालन अधिकृत छुम्बी लामा, पूर्व खेलकुदमन्त्री दलजीत शर्मा श्रीपाइलीलगायतले नेपाली टोलीको स्वागत गरेका थिए । नेपाली टोलीको स्वागतका लागि सरकारी निकाय तथा राष्ट्रिय खेलकुद परिषदका कुनै प्रतिनिधि विमानस्थलमा उपस्थित थिएनन् ।
विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप छनोटमा स्थान बनाउनु ऐतिहासिक भएको भन्दै यो लय र जितको शृङखलालाई १५ दिनपछि सुरु हुने विश्वकप छनोटमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले डिभिजन टू आफूहरुको लागि अविश्वसनीय भएको टिप्पणी गरे । ‘हामी अविश्वसनीय रुपमा डिभिजन टू को शीर्ष दुईभित्र रह्यौं’टमाटाले भने, ‘अझै पनि सुधार गर्नुपर्ने ठाउँहरु छन् । त्यसमा हामी काम गर्दै विश्वकप छनोटमा राम्रो खेल्नेछौं ।’ उनले पनि प्रतियोगितामा युवा खेलाडीहरुको प्रदर्शन प्रसंशायोग्य रहेको बताए ।
प्रतियोगिताका म्यान अफ द सिरिज सन्दीप लामिछानेले नामिबियामा राम्रो प्रदर्शन भएको र विश्वकप छनोटमा अझै राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । ‘डिभिजन टू मेरा लागि अविस्मरणीय रह्यो’, सन्दीपले भने ‘यो लयलाई विश्वकप छनोटमा पनि जारी राख्ने प्रयास गर्नेछु ।’
क्यानडाविरुद्धको खेलमा शानदार प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोटमा पु¥याएका करण केसीले त्यस खेल स्मरण गर्दै अन्तिम ओभरसम्म टिक्न पाए खेल जिताउँछु भन्ने आत्मविश्वास रहेको बताए । ‘अन्तिम ओभरसम्म खेल लैजान पाए खेल जिताउँछु भन्ने लागेको थियो । त्यसै अनुसार सम्हालिएर खेलेँ’ केसीले भने, ‘सन्दिपले पनि राम्रो साथ दियो ।’
६ राष्ट्रका टोलीहरु सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले एकदिवशीय विश्वकप छनोटमा सहभागिता निश्चित गरेको थियो भने पुनः डिभिजन वानमा उक्लिएको थियो । नेपाली टोली डिभिजन टू को फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि उपविजेता बनेको हो ।

स्वदेश फर्किएलगत्तै नेपाली टोली प्रशिक्षणमा व्यस्त रहने छ । सन् २०१९ मा इंग्ल्याण्डमा हुने आइसीसी एकदिवशीय विश्वकपका लागि छनोट प्रतियोगिता आगामी फागुन २० गतेदेखि सुरु हुँदैछ । नेपाल त्यस प्रतियोगिताको समूह बी मा छ । जिम्बाबेको हरारेमा फागुन २० गते पहिलो खेल नेपालले घरेलु टोलीसँग खेल्नेछ । त्यस्तै फागुन २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र २८ गते हङकङसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष ३ भित्र पर्न सके नेपाल ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ भने एकदिवशीय मान्यता पनि पाउनेछ । वेष्ट इण्डिज, आयरल्याण्ड, अफगानिस्तान, जिम्बाबेजस्ता टेष्ट मान्यताप्राप्त टोलीहरु सम्मिलित प्रतियोगिताको शीर्ष दुईभित्र अटाउने टोलीले विश्वकपको अन्तिम चरणमा छनोट हुनेछ ।