राजनीति

ओली सरकारको पहिलो पाँच निर्णय

काठमाडौं, ४ फागुन ।  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउने योजनाअनुरुप विभिन्न पाँचवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

जसमा आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्ति व्यवस्था लगायतमा जोड दिने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने पनि बताउनुभएको छ ।  उहाँले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिवद्धता जनाउनुभयो । विहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीसँग कुरा गर्दै सीटीईभीटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने घोषणा गर्नुभएको हो । त्यस्तै प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि २ वर्षभत्रै निर्माण गर्ने योजना पनि अघि सार्नुभएको छ  । लोकतान्त्रिक मूल्यमान्यता बमोजिम जनताको इच्छा, आकांक्षा र आवश्यक्ता पूरा हुने गरी आफूले शासन संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।