विश्व

उडान भरेको ५ मिनेटमै ७१ यात्रु सवार विमान दुर्घटना

मस्को, २९ माघ । रुसमा ७१ जना सवार विमान उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भएको छ । रुसको राजधानी मस्कोबाट काजाकिस्तानको सीमानामा रहेको ओस्र्क शहरका लागि उडेको एन्टोनोव ए.एन.–१४८ नामक विमान मस्कोकै बाहिरी इलाकामा दुर्घटनाग्रस्त भएको रुसी सञ्चार माध्यमले जनाएका छन् ।  विमानमा ६५ जना यात्रु तथा ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । 

सारातोफ एयरलाइन्सको त्यो विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रुसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको छ । रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको ज्यान गएको बताइएको छ । 

एन्टोनफ एएन – १४८ विमान कजाकिस्तानको सीमा नजिकै रहेको उराल्सको ओरस्क गैरहेको थियो । स्थानीय समय अनुसार आइतबार दिउँसो विमान दुर्घटनामा परेको हो ।  दुर्घटाना के कारण भयो भन्ने अझै खुलेको छैन् । विमान दुर्घटना भएको ठाउँमा हिमपात भएका कारण अनुसन्धानकर्ता र उद्दारकर्ताले त्यहाँ काम गर्न असजिलो भएको जनाइएको छ ।

अधिकारीहरुले शव क्षतविक्षत अवस्थामा धेरै स्थानमा छरिएको जनाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले मृतक परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घटनाबारे अनुसन्धान गर्ने जनाएका छन् ।
हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले ट्वीट गर्दै भनेको छ कि उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको थियो । हिउँले ढाकिएको मैदानमा दुर्घटनाग्रस्त विमानका अवशेषहरु देखिएको छ ।
सन् २०१७ लाई हवाई यात्राको सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । एक वर्षको अवधिमा पहिलो पटक कमर्सियल प्यासेन्जर जेट दुर्घटनाग्रस्त भएको हो । विमानमा एक बच्चा र दुई किशोरावस्थाका यात्रु रहेको बीबीसीले जनाएको छ ।