विश्व

अमेरिकी बजेटमा विवाद, सरकारी कामकाज ठप्प

अमेरिका, २८ माघ । सरकार चलाउन आवश्यक दुईवर्षे बजेट पास नभएपछि अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने देखिएको बीबीसीले जनाएको छ । अस्थायी बजेटको म्याद पूरा हुनुअघि नै विधेयक स्वीकृत हुने अपेक्षा गरिएतापनि समय सीमा सकिएकाले सरकारी कार्यालय पुनः बन्द रहने भएको बताइएको छ  । 
यसैवर्षको सुरुवातमा पनि अमेरिकी सिनेटमा सत्तापक्ष र विपक्षबीच गैरकानुनी आप्रवासी सम्बन्धी विवाद भएपछि तीन दिनसम्म सरकारी सेवा बन्द गरिएको थियो ।  यसपछि दुवै पक्षको सहमतिमा म्याद थप गरि अस्थायी बजेट पास गरिएको थियो । त्यसैले अब सिनेट र प्रतिनिधि सभा दुवैको स्वीकृतिमा २ वर्षे बजेट पास गरिएपछि मात्र सरकारी कामकाज सूचारु हुने बताइएको छ ।  यस निर्णयले शुक्रबारको काममा कतिको असर पु¥याउँछ भन्ने पक्का नभएपनि सोमबार भने काममा जानुअघि कर्मचारीहरुलाई सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको बिबिसीले जनाएको छ ।

अमेरिकाको बजेट अक्टुबर भन्दा पहिले नै पारित भइसक्नुपर्ने भएपनि निश्चित समय अवधिभित्र काम सम्पन्न गर्न नसक्दा यस्तो भएको यो पहिलो पटक होइन । यसअघि २०१३ मा सरकारी कार्यालयहरु १६ दिनसम्म बन्द रहँदा अमेरिकी सरकारलाई २ बिलियन डलरको नोक्सानी भएको थियो । तरपनि अहिलेका लागि सुरक्षा सेवा, हवाइ यातायात, स्वास्थ्य सेवा जस्ता अत्यावश्यक सुविधा प्रदान गर्ने कार्यालय भने सक्रिय रहने बताइएको छ ।