मनोरंजन

पाइलट परिवारबाट धुर्मुस–सुन्तली फाउण्डेशनलाई १ लाख

काठमाडौं, माघ । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन पाइलट गंगाप्रसाद (जिपि) रिजाल र उनकी धर्मपत्नि देवी रिजालले शनिबार धुर्मुस सुन्तली फाउण्डेशनलाई एकलाख रुपैयाँ प्रदान गरेका छन् । 

रिजाल दम्पत्तिले एकलाख रुपैया बराबरको चेक फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई फाउण्डेशनको कार्यालय पुरानो बानेश्वरमा हस्तान्तरण गरे । पत्रकार बलराम प्यासीको पहलमा रिजाल दम्पत्तिले फाउण्डेशनलाई सो रकम उपलब्ध गराएका थिए । 
पछिल्लो समयमा बाढीप्रभावित रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ को एकिकृत नमुना सन्तपुर वस्ती निर्माण गरी २३ माघमा सम्वनिधत वासिन्दालाई हस्तान्तरण गरेपछि धुर्मुस राजधानी फर्केका थिए । एकिकृत वस्तीका घर बनाएर हस्तान्तरण गरिसक्दा पनि उनलाई ७० लाख रुपैया अपुग भएको बताएपछि आफुहरुले सानो रकम सहयोग जुटाइदिएको र थप सहयोग जुटाउन रिजाल दम्पत्तिले शुभचिन्तकहरुसंग आग्रह गरे । 
एक लाख रुपैया दिने दाता क्याप्टेन रिजाल परिवार नेपालको उडान क्षेत्रको प्रतिष्ठित, स्थापित र ऐतिहासिक परिवार हो । बाबु गंगाप्रसादको साथै ३ छोराहरु सुवाश, सुदिप र श्रवण पनि क्याप्टेन पाइलट हुन । 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा वरिष्ठ क्याप्टेन गंगाप्रसादमात्रै नभई उनका ३ जना छोरामध्ये हाल सुवाश र श्रवण क्याप्टेन पाइलटको रुपमा कार्यरत छन भने केही वर्ष क्याप्टेन पाइलटको रुपमा नेवानिमा काम गरिसकेका माइला छोरा सुदिप भने हाल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कार्यरत छन् ।