चलचित्र

कल्पनाले बनाउने भइन् नयाँ चलचित्र

काठमाडौं, २८ माघ ।  नेपाली चलचित्रको निर्माणमा पहिले–पहिले पुरुषमात्र हावी हुने भए पनि पछिल्लो पटक महिलाहरु पनि निर्माणमा उत्तिकै रुपमा सक्रिय भएर लागेका छन् । नेपाली चलचित्रमा अभिनय गर्नुसँगै उनीहरु निर्माणमा समेत जुट्ने गरेका छन् । चलचित्र अभिनयसँगै निर्माणमा जुटेका  केही कलाकारहरुको नाम लिनुपर्दा नायिका झरना थापा, रेखा थापा, कृषा चौलागाईं, प्रज्ञा जोशी, मौसमी मल्ल, सुभेक्षा थापा, सुचित्रा श्रेष्ठ लगायत दर्जनौं महिलाहरु चलचित्र निर्माणमा सक्रिय रुपमा लागिपरेका छन् । पछिल्लो समयकी चलेकी नायिका नीता ढुंगाना, केकी अधिकारी, पूजा शर्मा, शिल्पा पोखरेल, दिपाश्री निरौलाले पनि चलचित्र निर्मात्रीको रुपमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।
यसभन्दा अगाडि गहिराई, नरसिंहा चलचित्र निर्माणमा सक्रिय रुपमा लागेकी निर्मात्री कल्पना मालिको संघर्षलाई पनि विर्सन मिल्दैन । उनले निर्माण गरेका चलचित्रले बक्स अफिसमा औसत व्यापार गरे पनि उनी भने यस कामबाट टाढा भएकी छैनन् । पछिल्लो पटक पुनः उनले अर्को बिग प्रोजेक्टको चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन् । चलचित्र निर्माण सम्पूर्ण तयारी पूरा भए पछि मात्र पत्रकार सम्मेलन गरी चलचित्रको नाम सार्वजनिक गर्ने उनले बताइन् । उनले निर्माण गर्न लागेको नयाँ चलचित्र सामाजिक मूलधारमा केन्द्रित रहेर प्रेम, रोमान्स र द्वन्द्वमै समायोजन रहने छ । गहिराई र नरसिंहाको निर्माण पछि आफूले चलचित्र क्षेत्रमा गर्न सकियो र मेहनतका साथ लागियो भने ठूलो भविष्य देखेकोले चलचित्र निर्माणमा आफू सक्रिय रुपमा लागेको बताइन् । चलचित्रको बजार र गुणस्तर पछिल्लो समय बलियो बन्दै गएको कारण आफूले निर्माण गर्ने नयाँ चलचित्रमा पनि प्रविधिको भरपूर प्रयोग हुने बताइन् । उनले चलचित्रका लागि कलाकारहरुको पनि लगभग टुंगो लागिसकेको र चलचित्रको छायांकन नेपाल र विदेशमा हुने बताइन् । निर्माण कम्पनीका अनुसार चलचित्रको ४० प्रतिशत विदेशमा र बाँकी स्वदेशमा निर्माण हुनेछ । 
कल्पनाले आफूले नेपाली चलचित्रलाई सधै माया गर्दै आएको र विदेशमा पनि नेपाली चलचित्र क्षेत्रका बजार विस्तार भइसकेको हुनाले अब नेपाली चलचित्रलाई स्वदेशमा मात्र नभएर विदेश प्रदर्शनलाई पनि प्राथमिकता दिने बताइन् । चलचित्र विदेशमा प्रदर्शन गर्दा नेपाली कला संस्कृतिको विकास सहित पहिचान पनि बढ्ने उनको भनाइ छ । उनको विचारमा अब बन्ने नेपाली चलचित्र दर्शक लक्षित हुनुपर्छ, परम्परागत कथालाई पनि नयाँ धारमा ल्याएर चलचित्रको निर्माण गरियो भने निर्माण पक्षको लगानी सहजरुपमा सुरक्षण हुने अवस्था आउँछ ।