खेलकुद

विन्टर ओलम्पिक आजबाट, १५ खेलमा १०२ पदकको लागि प्रतिस्पर्धा

काठमाडौं, २६ माघ ।  विश्व खेलकुदको अर्को कुम्भमेला विन्टर (शीतकालीन)  ओलम्पिक खेलकुद दक्षिण कोरियामा आज (शुक्रबार) बाट सुरु हुँदैछ । २३ औं संस्करणको विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङचाङमा हुनेछ । विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा चिसो मानिएको प्योङचाङ ओलम्पिक १७ दिन चल्नेछ । १३ स्थानमा हुने विन्टर ओलम्पिकमा १५ खेलमा प्रतिस्पर्धा हुनेछ । र, १०२ पदकको लागि ३ हजार बढी खेलाडीले स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

यो पटकको विन्टर ओलम्पिक राजनैतिक चासोको बिषय समेत बनेको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीचको चिसो सम्बन्धको कारण पनि विन्टर ओलम्पिक चासोको बिषय बनेको छ । तर, यो ओलम्पिकबाट दुई कोरियाबीचको सम्बन्धमा सुधार आउने बताइएको छ ।  उत्तर कोरियाले खेलाडी, चियर लिडर्स, कलाकारसहितको ५५० सदस्य टोलीलाई खेलाडीहरु दक्षिण कोरिया पठाएको छ । दुई कोरियाका महिला आइस हक्की टिम एकै टिम भएर प्रतिस्पर्धासमेत गर्नेछन् । दुई कोरियाबीचको खेलाडी सम्मलित महिला आइस हक्की टिमले स्विडेनविरुद्ध अभ्यास खेलसमेत खेलिसकेको छ ।

यस्तै यो पटक विन्टर ओलम्पिकमा रुस जस्ता ठुला राष्ट्रका खेलाडीले आफ्नो राष्ट्रको झन्डामुनी रहेर ओलम्पिक खेल्न पाउनेछैनन् । ओलम्पिक खेलकुदमा पावर हाउस मानिने रुसका १६९ खेलाडीले तटस्थ झण्डामुनी रहेर विन्टर ओलम्पिक खेल्दैछन् । प्रतिबन्धित शक्तिवद्र्धक औषधि (डोपिङ) मा निर्दोष देखिएका १६९ खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले विन्टर ओलम्पिक खेल्न अनुमति दिएको हो ।

गत मङ्सिरमा स्वीट्जरल्याण्डमा बसेको आइओसीको वैठकले रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाएपछि रुसका खेलाडीले तटस्थ झण्डामुनी रहेर खेल्न लागेको हो ।

पछिल्लो समय रुसी खेलाडीहरु डोपिङ परिक्षणमा असफल हुँदै आएपछि आइओसीले रुसलाई प्रतिबन्ध गर्दै आएको छ । सन् २०१४ मा रुसको सोचीमा भएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाइएपछि आइओसीले रुसलाई प्रतिबन्ध लगाएको थियो ।