खेलकुद

आज नेपाल र ओमान भिड्दै, पहिलाे खेलमा वसन्त बने नायक

काठमाडौं, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले अाेमानको सामना गर्दैछ । विहीबार भएको पहिलो खेलमा नामिविया विरूद्ध नेपालले संघर्षपूर्ण जित निकाल्यो । नेपालको जितका लागि अन्तिम समयमा मैदानमा आएका बसन्त रेग्मीले नेपाललाई जित दिलाए । उनले २४ बलमा २४ रन बनाउँदै नट आउट रहे । आयोजक नामिबिया विरुद्धको पहिलो खेलमा नेपालले १ विकेटको जित हात पार्दै सुखद् शुरुवात गरेको छ । नेपालले शुक्रबार दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।  

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले बलिङ उत्कृष्ट गरे पनि व्याटिङ पक्ष भने निकै नै फितलो देखियो । नेपालका लागि सर्वाधिक शरद भेषवाकरले ६७ बल खर्चिदै २९ रन बनाए । त्यस्तै कप्तान पारस खड्काले ३५ बल खेलेर १९ रन बनाए । ४५ बलको सामना गरेका ज्ञानेन्द्र मल्लले १५ रन जोडे । अर्का नेपाली खेलाडी रोहितकुमार पौडेलले ६० बलको सामना गर्दै १७ रन मात्र बनाए । सोमपाल कामीले २९ बलको सामाना गर्दै जम्मा १३ रन जोडेर पेभिलियन फर्किए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक बटुल्न सकेनन् । 

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमै अलआउट गरेको थियो । नेपालका लागि युवा बलर सन्दिप लामिछानेको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । ८.२ ओभर बलिङ गरेका सन्दिपले २ मेडेन साथ १८ रन खर्चिँदै ४ विकेट लिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए तथा वसन्त रेग्मी, शरद भेषावकर र पारस खड्काले १–१ विकेट लिएका थिए । सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाउन सफल भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेको नामिबियाको एक स्थितिमा २ विकेटको क्षतिमा ७५ रन थियो । तर नेपाली बलरहरुको कसिलो बलिङले नामिबियाको मिडल अर्डर ध्वस्त पा¥यो । नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन जोडे भने जान फ्राइलिन्क र जेन ग्रिनले समान २२ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्वपूर्ण योगदान दिन सकेनन् । विलियम्सलाई सन्दिपले नै शिकार बनाएका थिए । 

नेपाली सुरुवाती ११ मा ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, पारस खड्का (कप्तान), शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, बसन्त रेग्मी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने मैदानमा उत्रिएका थिए । विहीबारबाट शुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । 

प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । नेपाल डिभिजन टु को शीर्ष २ मा पर्न सके अगाडिको ढोका खोलिने छ तर, नेपाल डिभिजन टु को शीर्ष दुईभित्र पर्न नसके निकै लामो समय ठूला प्रतियोगिताबाट बञ्चित हुनुपर्ने छ । त्यसकारण पनि नेपालको लागि डिभिजन टूले भविष्य निर्धारण गर्नेछ । फाइल र प्लेअफ चरणका खेलहरु फेब्रुअरी १५ मा हुनेछ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली अर्को महिना जिम्वावेमा हुने आइसीसी वान डे वल्र्ड कप क्वालिफायरका लागि छनोट हुनेछन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल रहेका छन् । त्यसैगरी वैकल्पिक खेलाडीमा सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो रहेका छन् । 

यसैबीच, वान्डरर्स मैदानमा विहीबार नै भएको खेलमा युएईले शानदार जित हात पारेको छ । पहिले व्याटिङ गरेको यूएर्ईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ३ सय ९ रन बनाएको थियो । ३ सय १० रनको विजयी लक्ष्यसात मैदानमा उत्रिएको केन्याले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । त्यस्तै, विहीबार नै ट्रस्टको युनाइटेड मैदानमा भएको ओमान र क्यानडा बीचको खेलमा क्यानडा ८ विकेटले विजयी भएको छ । १ सय ६ रनको लक्ष्य पाएको क्यानडाले १५.४ ओभरमा लक्ष्य पूरा गर्दै १ सय ८ रन बनाएको थियो । 

नेपालको दोस्रो दिनको प्रतिस्पर्धीका रुपमा रहेको ओमान आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री बाट बढुवा हँुदै टिभिजन टु मा पुगेको टोली हो । नेपालले यसअघि ५० ओभरको खेलमा ओमनसँग १ पटक मात्रै खेलेको छ । २०१३ सालमा बर्मुडामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री उपाधि नेपालले जित्दा लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको थियो । पछिल्लो समयमा ओमनले क्रिकेटमा राम्रो छलाङ मारेको छ तर डिभिजन टु मा सबैभन्दा कमजोर प्रतिद्वन्द्वीको रुपमा नेपालले ओमनलाई लिएको छ । त्यस्तै अन्य दुई वटा खेलमा ‘यूएई र क्यानडाबी’चको खेल वान्डरर्स मैदानमा हुँदैछ भने अर्को खेल केन्या र नामिवियाबीच ट्रस्टको युनाइटेड मैदानमा हुँदैछ ।