मनोरंजन

विदेशमा विक्न थाले नेपाली चलचित्र

काठमाडौं, २३ माघ । नेपालमा राम्रो व्यापार गरेका नेपाली चलचित्रले विदेशमा पनि राम्रै दर्शक पाउने गरेका छन् । पछिल्लो समय नेपाली चलचित्रले स्वदेशमा मात्र नभएर विदेशमा पनि राम्रो व्यापार गर्न थालेका हुन् । अहिले नेपाली चलचित्र क्षेत्रमा केही चलचित्र नेपालमा प्रदर्शन हुनु अगावै विदेशमा प्रिमियर गरिने गरेको पाइन्छ भने केही चलचित्रले नेपालमा प्रदर्शन पश्चात विदेशमा प्रदर्शन गर्ने प्रचलन बढेको छ । 
नेपालीहरु धेरै रहेका विदेशका मुख्य शहरहरुमा नेपाली फिल्मको बजार राम्रो मानिन्छ । मलेसिया, दुबई, कतार, जापान, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशमा नेपाली चलचित्रले राम्रो व्यापार गर्दै आएका छन् ।  यसरी प्रदर्शन गरिएका चलचित्रले एकातिर नेपाली चलचित्र व्यापारको दायरालाई फराकिलो बनाएको पाइन्छ भने भने अर्कोतिर निर्माता तथा निर्देशकले पनि केही आम्दानी गर्न थालेका छन् । त्यतिमात्र नभएर कलाकारहरुले पनि विदेश भ्रमणको सहज वातावरण बनाउन सकेको देखिन्छ । 
विदेशमा प्रदर्र्शनमा आएका चलचित्रलाई विदेशमा रहेका नेपाली दर्शकले पनि निकै माया गर्ने गर्छन् । हालै अष्ट्रेलियाको सिड्नीमा प्रदर्शनमा आएको चलचित्र प्रेम गीत–२ ले यसलाई अझ पुष्टि गरेको हो । 
अष्ट्रलेयिमा सिड्नीस्थित हर्षभिल सिभिक थियटरलाई अन्य सिनेमा घरभन्दा फरक मानिन्छ । सरकारी स्वामित्वमा सञ्चालित भएका कारण पनि सिभिकलाई प्राईभेट सिनेमा जस्तो तरिकाले हेरिदैन । जुन थियटरमा फिल्म हेर्न जाने दर्शक कमी हुन्छन् भन्ने गरिन्छ । तर, यही थियटरमा प्रदर्शनमा ल्याइएको प्रेम गीत २ ले भने हाउसफल व्यापार गरेको छ । गत शनिबार ‘प्रेम गीत २’को पहिलो शो हाउसफुल भएपछि सिभिकका टेक्निसियन समेत दंग परे । उनी हरेक साता थियरमा प्रदर्शन हुने हरेक समुदायको फिल्मको शोको लागि प्राबिधिकका रुपमा काम गर्छन् । तर, उनले काम गरे देखि नै फिल्म शो मा अहिले सम्मकै धेरै दर्सक देखेको अनुभव सुनाएको जनाइन्छ । फिल्ममा अंग्रेजी सबटाईटल रहेकाले पनि फिल्म मन परेको बताए । 
कलिउड क्लबले आयोजना गरेको सिड्नी शोमा दुई सय बीस जना दर्शक सहभागी थिए । जब थियटरमा २०९ जनाको सिट क्यापासिटि छ । फिल्म हेरेपछि दर्शकहरुले फिल्म अत्याधिक मन पराएको प्रतिकृया दिएका छन् । रामशरण पाठक निर्देशित तथा सन्तोष सेन ठकुरी निर्मित चलचित्रमा प्रदीप खड्का लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको ईन्टरनेश्नल राइट ब्राण्फोर्ड एजुकेसन कन्सलटेन्सीले लिएको हो । फिल्म हेर्न सिड्नीका व्यापारीदेखि गायक–गायिका, मोडलहरुको समेत सहभागिता थियो । फिल्म हाउसफुल भएपछि निर्माण पक्षले समेत खुशी बनेको छ । फिल्मको दोस्रो शो १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाईन डेमा रेड कार्पेट शो हुने भएको छ । उक्त शोका लागि २५ डलरको टिकट राखिएको छ ।