चलचित्र

‘पञ्चायत’मा नीताको नौलो रूप !

काठमाडौं, २३ माघ । ५० बर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायत चाँडै पर्दामा देख्न पाइने भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्रता दिन थालेको छ । चलचित्रलाई दर्शकमाझ जानकारी गराउन निर्माण पक्षले हालै चलचत्रिको ट्रेलर सार्वजनिक गरेको छ । 
आइतबार फिल्म युनिटले एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको ट्रेलरमा मुख्य कलाकार सरोज खनाल, नीता ढुङ्गाना र जान्वी बस्नेतलाई देखाइएको छ । कार्यक्रममा फिल्म युनिटले कलाकार र प्राविधिकलाई समेत सम्मान गरेको थियो । अमेरिकामा भएको ‘सान फ्रान्सिस्को इन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । उक्त अवार्डमा हात पारेको सफलताको लागि फिल्मकर्मी सम्मानित भएका हुन् ।
फिल्ममा सरोज खनाल र नीता ढुङगानासँगै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ ।  चलचित्र यहि चैत २ गते बाट प्रदर्शनमा आउने भएको छ ।  
ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरिको प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गरेका हुन्  । सञ्चारकर्मी रबि अधिकारी चलचित्रका कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा टंक बुढाथोकि संगीत, रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका नीताले ‘मसान’ पछि आफ्ना लागि यो फिल्म आशातित रहेको बताइन् । उनले भनिन्, ‘फिल्ममा मैले १४ वर्षे एक यूवतीको भूमिका निर्वाहा गरेकी छु । स्क्रिप्ट पढ्दा मैले यो भूमिका गर्न सक्छु जस्तो लागेको थिएन तर निर्देशकको मिहिनेतले त्यो सम्भव भयो ।’ यस्तै, अभिनेता खनालले ‘पञ्चायत’ आफ्नो लागि विशेष रहेको सुनाए ।