चलचित्र

अनमोल र अदितीको केमेस्ट्री गज्जब

काठमाडौं, २३ माघ । यो वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको चलचित्र ‘कृ’को एउटा गीत ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको छ । स्कटल्याण्डका विभन्न रमणीय स्थलमा छायांकन भएको चलचित्रको गीत एक कार्यक्रम गरी काठमाडौंमा सार्वजनिक गरिएको हो । चलचित्रको टिजर र नायक अनमोल केसीका कारण प्रतिक्षित बनेको यो चलचित्रको पछिल्लो गीतले पनि दर्शकका लागि नयाँ हुने निर्माण पक्षले विश्वास लिएको छ । 
नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी अभिनित चलचित्र ‘कृ’ माघ २६ गते अर्थात आगामी शुक्रबार देशव्यापी रिलिज हुँदैछ । सार्वजनिक गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ । 
पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।