चलचित्र

‘शेरबहादुर’ र ‘पटुकी’ मध्यम

काठमाडौं, २१ माघ । यो साता प्रदर्शनमा आएका दुई वटा नेपाली चलचित्र ‘शेरबहादुर’ र ‘पटुकी’ले औसत व्यापार गरेका छन् ।सस्पेन्स थ्रिलर जनरामा बनेको ‘शेरबहादुर’ मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्र ‘पटुकी’ मा ‘परदेशी’ गर्ल रजनी केसीको मुख्य खभिनय रहेको छ । 
प्रियिमरमा उत्कृष्ट तारिफ पाएको ‘शेरबहादुर’ मल्टिप्लेक्स लक्षित फिल्म हो । एक हलिउड फिल्मबाट प्रभावित यो फिल्मलाई मल्टिप्लेक्समा गएको हप्ता प्रदर्शनमा आएको बलिउड फिल्म ’पद्मावत’ बाधक बन्न सक्ने चलचित्रकर्मीको विश्लेषण छ । अझै पनि ’पद्मावत’ हेर्ने दर्शकको संख्यामा कमी आएको छैन । यसकारण पनि ‘शेरबहादुर’लाई चुनौती छ । 
फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । ‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह–निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।  
यस्तै, नारीप्रधान फिल्म बताइएको ‘पटुकी’ मा जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । सिंगल थिएटर लक्षित ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । फिल्मका निर्देशक राम नेपाल हुन् । प्रदर्शनको पहिलो दिन दुबै चलचित्रले औसत व्यापार गरेको हल व्यवसायीको भनाइ छ । प्रदर्शनको दोस्रो दिन सार्वजनिक विदा अर्थात शनिबार परेको हुँदा दुबै चलचित्रले पहिलो दिनको तुलनामा केही बढी मात्रामा दर्शक पाए ।