मनोरंजन

नाकामा विपिनको नयाँ गेटअप

काठमाडौं, २१ माघ । प्रायः फरक भूमिकामा देखा पर्दै आएका अभिनेता विपिन कार्कीले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘नाका’को झन पृथक गेटअपमा देखिएका छन् ।  चलचित्रको ट्रेलरमा विपिन गुण्डा डनको रुपमा देखा परेका छन ।  ट्रेलरलाई हाईलाईट नेपालले सार्वजनिक गरेको हो ।
पोर्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन तथा कथा अमित श्रेष्ठको रहेको छ । प्रविन टक्की कार्कीको लगानीमा बनेको बिपिन कार्की सँगै थिन्ले लाह्मो, रोबिन तामाङ, शिब मुखिया लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि रिलिज भएको टीजरका कारण पनि फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा विपिनको हेयर स्टाइल र शैली निकै भिन्न देखियो । यो लुक्सलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क रहेको छ । चलचित्रमा विपिनको भूमिकालाई यही लुक्सले अझ सशक्त बनाएको निर्माण पक्षले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने यो फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ । 
अमित श्रेष्ठको लेखन र निर्देशन रहेको फिल्ममा अभिषेक सुवेदीको पटकथा छ । फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण गरेका छन् । शिशिर गुरुङ र निर्देशक श्रेष्ठ फिल्मको कार्यकारी निर्मातामा रहेका छन् । फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र प्रदर्शनमा आउन लागेको ‘नाका’ का छायाँकार चिन्तन राज भण्डारी हुन् । कार्यक्रममा ट्रेलर रिलिज सँगै फिल्मको प्रमोशनका लागि एक मोवाइल गेम समेत निर्माण गरिएको जानकारी दिइयो । उक्त गेम भने फिल्म रिलिजको केही दिन अगाडि मात्र सार्वजनिक गरिने जनाइएको छ ।