चलचित्र

महिला सशक्तिकरणमा रेखा

काठमाडौं,  माघ । अभिनयसँगै राजनीतिमा पनि सक्रिय रहेकी रेखा थापा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय महिला सशक्तिकरणको अभियानसहित मैदानमै उत्रिएकी हुन् । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ सँग पनि जोडिएकी नायिका थापा विभिन्न जिल्लामा गएर महिलामाथि हुँदै आएका विभेद, हिंसा विरुद्धका विषय एवं महिला सशक्तिकरणको विषयमा आवाज उठाउँदै आएकी छिन् । 
हालैमा उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै समाजले महिला बनाउन दिने तालिम बन्द गर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘छोरीको परिचय कसैसँग जोडिएर सुरुवात हुन्छ वा उनी आफैँमा पूर्ण मानव हुन् ? एउटा पुरुष सन्तान जन्मदेखि मृत्युसम्म एउटा परिचय र पहिचानको सुविधा बाँच्न पाइरहँदा, सोही घरकी छोरीले आफ्नो परिचय बनाउँदै–भत्काउँदै गर्नु पर्ने किन हुन्छ ?  के परिचयको समर्पण र त्याग छोरीको निम्ति अपरिहार्य आवश्यकता हो ?’
उनले समाजले महिला बनाउन तालिम दिने गरी तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुञ्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर नहुने तर्क गरेकी छिन् । त्यसो त महिला हक अधिकारका विषयमा दर्जनौं संघ संस्थाहरुले विभिन्न अभियान चलाइरहेका भएपनि अझै महिलाहरु हक अधिकारबाट बञ्चित हुँदै आएका छन् । संविधानको मौलिक अधिकारमै महिला अधिकार राखिएको भए पनि कार्यान्वयनको पाटो भने निकै फितलो देखिन्छ । त्यतिमात्र नभएर आमाको नामबाट नागरिकता पाउने विषयमा पनि संविधानमा स्पष्ट लेखिएको भए पनि विभिन्न उपधारले त्यसलाई बन्देज र निस्तेज पार्ने काम भएको पाइन्छ ।